हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी प्रचार प्रसारमा सांकेतिक सामाग्री प्रयोग नगर्न निर्वाचन आयोगले अनुरोध गरेको छ । बुधबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै आयोगले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न राजनीतिक दललाई अनुरोध गरेको छ ।
निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगले अचारसंहिता, २०७८ जारी गरी चैत २५ गतेबाट कार्यान्वयनमा ल्याएको छ । आचारसंहिता २०७८ मा सबैले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । आचारसंहिताको दफा ४ “घ” मा उम्मेदवारको चुनाव चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ब्याच, ट्याटु जस्ता सामाग्री उत्पादन गर्न, प्रयोग गर्न, विक्रि वितरण वा प्रदर्शन गर्न नपाउने व्यवस्था रहेको उल्लेख छ । सांकेतिक सामाग्री उत्पादन भईरहेको सूचना प्राप्त भएकोले आयोगले त्यस्ता सामाग्री उत्पादन र विक्रि वितरण बन्द गर्न अनुरोधसहित प्रेस विज्ञप्ती सार्वजनिक गरेको हो ।
आयोगले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमको कुनै पनि उत्पादन नगर्न परिपत्र गरी निर्वाचन आयोगलाई सहयोग गर्न अनुरोध गरेको छ । आयोगको अनुरोध बेवास्ता गरी आचारसंहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था वा पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ । यस्तै, निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।