हेटौंडाः हेटौंडा–१५, चुरियामाईकी अनिशा राईमाथि छुरा प्रहार गर्ने हेटौंडा–२ का सिर्जन यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
प्रहरीले खोजी कार्य जारी राखेकै बेला सिर्जन आफैं प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) टेक बहादुर कार्कीले जानकारी दिनुभयो । यादवविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी कार्कीले जानकारी दिनुभएको छ । डीएसपी कार्कीका अनुसार अभियुक्त यादवलाई हिरासतमै राखेर अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट मकवानपुर प्रहरीले बुधबार ५ दिनको म्याद पाएको छ ।
हेटौंडा–८, कमानेमा चैत ११ गते शुक्रबार साँझ सिर्जनले अनिशामाथि छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएकी अनिशा काठमाडौंका एक साताको उपचारपछि डिस्चार्ज भएकी थिइन् । अनिशा उपचारपछि हेटौंडा फर्किसकेकी छिन् ।