गुम्बाडाँडाः हेटौंडा–१८, गुम्बाडाँडामा २५ फिटको बुद्धको मूर्ति अनावरण गरिएको छ । बौद्ध धर्मगुरु टुल्कु लोसाङ नाम्गेल रिन्पोछेले शनिबार बिहान बुद्ध मूर्तिको अनावरण गर्नुभएको हो । बुद्ध मूर्ति अनावरण गर्नुअघि हेटौंडाको बुद्धचोकदेखि गुम्बाडाँडासम्म १७ किलोमिटर धावकहरुले शान्ति दौड पूरा गरेका थिए । बौद्ध धर्मगुरु टुल्कु लोसाङ नाम्गेल रिन्पोछे र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धर्मशोभन महास्थवीरले सम्यक् दर्पण स्मारिका विमोचन गर्नुभएको थियो ।
गुम्बाडाँडाको बुद्ध मूर्ति निर्माण समितिका कोषाध्यक्ष सुवासराज शाक्यले समाजलाई शान्त र शिक्षित बनाउन बुद्धको मूर्ति निर्माण गरिएको बताउनु भयो । बुद्धको मूर्ति ६९ लाख २६ हजार रुपैयाँ लागतमा निर्माण गरिएको हो । बुद्ध मूर्तिसँगै ठुलो बोधचैत्य १२ लाख ७१ हजार रुपैयाँ, दुईवटा सानो बोधचैत्य ३ लाख ७६ हजार रुपैयाँ र धुपदानी (साङफु) ७२ हजार रुपैयाँ लागतमा निर्माण गरिएको शाक्यले बताउनु भयो । करिब १८ महिनामा निर्माण सम्पन्न गर्ने भनिएको मूर्ति निर्माणको कार्य कोभिड–१९ महामारीका कारण झण्डै २ बर्षको अवधिमा निर्माण सम्पन्न शाक्यको भनाइ छ ।
कार्यक्रममा मूर्ति निर्माण समितिका सल्लाहकार टासीकुमार लामाले धार्मिक आस्थाका साथै पर्यटन प्रवद्र्धनमा पनि बुद्ध मूर्तिको स्थापना महत्वपूर्ण भएको बताउनु भयो । हाम्रो देशमा बुद्धको जन्म भएपनि अरुदेशमा जस्तो बुद्धको मूर्ति निर्माण नभएको लामाको भनाइ छ । शिक्षा र शान्तिले नै विकास हुने लामाको दावी थियो । बुद्ध मूर्ति निर्माणका लागि काठमाडौंका सूर्यबज्र लामाले ५ लाख ५५ हजार रुपैयाँ, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ बाट ५ लाख रुपैयाँ तथा हेटौंडा–१ का महारत्न, ज्योतिरत्न, महासत्व र महारथ बज्राचार्य परिवारले ३ लाख रुपैयाँ, हेटौंडा–४ का पुरनबहादुर जोशीले २ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । कार्यक्रममा बुद्ध मूर्ति निर्माणमा सहयोग गर्ने सबैलाई सम्मान गरिएको थियो ।
बुद्ध मूर्ति निर्माण समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाको सभाअध्यक्षता तथा बौद्ध धर्मगुरु टुल्कु लोसाङ नाम्गेल रिन्पोछेको प्रमुख आतिथ्यमा बुद्ध मूर्ति अनावरण कार्यक्रम भएको हो ।