हेटौंडाः बालअधिकारको क्षेत्रमा क्रियाशील सिविन नेपालले आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा बालअधिकारको विषय र बालअधिकारको संरक्षण एवम् प्रवद्र्धनको सवाललाई ध्यान दिन आग्रह गर्दै मकवानपुर जिल्लाका ७ वटा राजनीतिक दललाई ज्ञापनपत्र बुझाएको छ ।
सिविन नेपालले शुक्रबार एक साथ नेपाल कम्युनिष्ट पाटी (एमाले) का जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला अध्यक्ष सर्केश घलान, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पाटी मकवानपुरका अध्यक्ष शिवराम थापा, जनता समाजवादी मकवानपुरका संयोजक सुविन मोक्तान, जनमोर्चा नेपाल मकवानपुरका सचिव दिनेश विष्टलाई ज्ञापनपत्र बुझाइएको सिविन बाल हेल्पलाइन मकवानपुरका प्रवन्धक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
सबै पार्टीका प्रमुख एवम् प्रतिनिधिहरुले ज्ञापनपत्र बुझ्दै बालअधिकारको विषयलाई आफ्नो घोषणापत्रमा समावेश गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सिविनले १८ बर्षभन्दा कम उमेर समूहका बालबालिकालाई चुनावी प्रचारप्रसार तथा जुलुस, र्यालीमा प्रयोग नगर्न, बालबालिकाको अधिकारलाई व्यवहारमा रूपान्तरण गर्ने प्रतिवद्धता दलको मूल प्राथमिकतामा राख्न ज्ञापनपत्रमार्फत अपील गरिएको छ ।
यस्तै नेपाल सरकारले व्यक्त गरेका बालबालिकासम्बन्धी प्रतिवद्धताहरुको कार्यान्वयनमा दलको प्राथमिकता घोषणा–पत्रमा समावेश गरियोस् भन्ने अपील गरेको सिविनले सडकमा आश्रित, अभिभावकविहिन, हिंसा, दुव्र्यवहार, शोषण (शारीरिक, मानसिकतथा यौन र श्रम शोषण), बेचबिखन, बालविवाह, मानसिक समस्याबाट जोखिम अवस्थामा रहेका बालबालिकाकोे उचित संरक्षण, पुनस्र्थापना, विकास, सीप, शिक्षा र परिवारको जिविकोपार्जनका विषयमा निश्चित योजना र कार्यक्रम बनाउने प्रतिवद्धता घोषणा–पत्रमा उल्लेख गर्न भनेको छ । बालबालिकाको संरक्षण, विकास र सशक्तीकरणका लागि कम्तिमा १५ प्रतिशत बजेट विनियोजन गरी बाल क्लब तथा किशोरी क्लबहरू गठन एवम् सञ्चालन गर्न पनि अपील गरिएको छ ।