हेटौंडाः मकवानपुर जिल्लाका सबै पालिकामा आधारभूत तह (कक्षा ८)को परीक्षा मिति निर्धारण भएको छ । मकवानपुर जिल्लामा रहेका १० वटा पालिकामा परीक्षाको कार्यक्रम सार्वजनिक भएको हो ।
हेटौंडा उपमहानगरपालिकाको आधारभूत तह (कक्षा ८)को परीक्षा २०७९ बैशाख ८ गतेदेखि १७ गतेसम्म हुने हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगरपालिकामा ७६ वटा सामुदायिक र ५१ वटा संस्थागत विद्यालय रहेका छन् । जिल्लाको मनहरी गाउँपालिकामा बैशाख २ गतेबाट परीक्षा सुरु हुनेछ । करिब ७ सय विद्यार्थी आधारभूत तहको परीक्षामा सहभागी हुने मनहरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाले जानकारी दिनुभएको छ । गाउँपालिकामा ३२ वटा सामुदायिक र ८ वटा संस्थागत विद्यालयमा १३ हजार विद्यार्थी अध्ययनरत छन् । जिल्लाको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा बैशाख ८ गतेदेखि आधारभूत तहको परीक्षा सुरु हुनेछ । करिब ८ सय विद्यार्थी परीक्षामा सहभागी हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद रार्ईले बताउनुभएको छ ।
गाउँपालिकामा एउटा संस्थागत र ५० सामुदायिक विद्यालयमा ८ हजार २ सय विद्यार्थी अध्ययनरत छन् । यसैगरी, बकैया गाउँपालिकामा चैत्र २९ गतेबाट आधारभूत तहको परीक्षा हुने गाउँपालिकाका शिक्षा प्रमुख नारायण चापागाईंले बताउनुभयो । अहिलेको परीक्षामा करिब ७ सय विद्यार्थी सहभागी हुने उहाँले बताउनुभयो । गाउँपालिकामा २० सामुदायिक विद्यालयमा ११ हजार ५ सय ४ जना विद्यार्थी अध्ययनरत छन् ।
कैलाश गाउँपालिकामा बैशाख २ गतेदेखि परीक्षा हुने गाउँपलिकाका शिक्षा विकास अधिकृत सूर्य थिङले बताउनुभयो । गाउँपालिकामा अहिले ३ सयदेखि ४ सय विद्यार्थीले परीक्षामा सहभागिता जनाउँदैछन् । गाउँपालिकामा ४९ वटा सामुदायिक विद्यालयमा ६ हजार १ सय ४३ विद्यार्थी अध्ययनरत छन् ।
ईन्द्रसरोवर गाउँपालिकामा चैत २८ गतेबाट परीक्षा सुरु हुनेछ । यसवर्ष २ सय ३ जना विद्यार्थी आधारभूत तहको परीक्षामा सहभागी हुने ईन्द्रसरोवर गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी दिनुभयो । गाउँपालिकामा ७ सामुदायिक विद्यालयमा २ सय ७ जना विद्यार्थी अध्ययनरत छन् ।
भीमफेदी गाउँपालिकामा बैशाख ९ गतेदेखि परीक्षा सुरु हुनेछ । करिब ४ सय विद्यार्थीले परीक्षामा सहभागिता जनाउने गाउँपालिकाका स्रोत शिक्षक गोविन्द चौलागाईंले बताउनुभयो । गाउँपालिकामा ४७ सामुदायिक र २ संस्थागत विद्यालयमा ४ हजार ४ सय २५ विद्यार्थी अध्ययनरत छन् ।
थाहा नगरपालिकामा चैत्र २९ गतेदेखि परीक्षा हुनेछ । करिब ७ सय ५० विद्यार्थीले परीक्षामा सहभागिता जनाउने नगरपालिकाका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीले जानकारी दिनुभयो । नगरपालिकामा १८ सामुदायिक र ६ संस्थागत विद्यालयमा ९ हजार विद्यार्थी अध्ययनरत छन् ।
राक्सिराङ गाउँपालिकामा बैशाख २ गतेदेखि परीक्षा सुरु हुनेछ । करिब ५ सय विद्यार्थीले परीक्षामा सहभागिता जनाउने गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले बताउनु भयो । गाउँपालिकामा ५२ सामुदायिक र २ संस्थागत विद्यालयमा ५ हजार विद्यार्थी अध्ययनरत छन् ।
यस्तै, मकवानपुरगढी गाउँपालिकामा भने शिक्षा समितिको बैठक नबसेकाले परीक्षा कहिले हुने थाहा नभएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले बताउनुभयो ।