
हेटौंडाः चितवनको भरतपुरमा बिहीबार सम्पन्न त्रिकोणात्मक एक दिवसीय भरतपुर मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ । बिहीबार भएको फाइनल खेलमा मकवानपुरले नवलपुरलाई १७४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
मकवानपुरले ४० ओभरमा १० विकेट गुमाएर २ सय २५ रन बनाएको थियो । मकवानपुरका शुभ कंशाकारले २४ बलमा ४३ रन बनाएका थिए । यस्तै, गौरब खड्काले २२, विशाल फुयाँलले ६९, सुमन सुनारले ७, आकाश घिमिरेले २४ रन बनाएका थिए । २ सय २६ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको नवलपुर १६ ओभर ४ बलमा सबै विकेट गुमाएर ५१ रन मात्रै बनाउन सक्यो । नवलपुरलाई सस्तैमा समेट्ने क्रममा मकवानपुरका रिजन ढकालले ७ विकेट लिए । नवलपुरका शुभम खरेलले १३ रन र दीपक डुम्रेले ११ रन जोड्दा ३ खेलाडी शून्यमै आउट भए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
प्रतियोगितामा मकवानपुरका रिजन ढकाल म्यान अफ द सिरिज घोषित भए । प्रतियोगिताको उपाधिसँगै मकवानपुरले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल प्राप्त गरेको छ । मकवानपुरका शुभ कंशाकार उत्कृष्ट व्याट्स्म्यान हुँदा नवलपुरका कमल परियारले उत्कृष्ट बलरको पुरस्कार प्राप्त गर्न सफल भए ।