हेटौंडाः बागमती प्रदेशका छ जिल्लामा बर्ड फ्लुको संक्रमण देखा परेको छ । बुधबार बागमती प्रदेश सरकारको कृषि तथा पशुपंछी विकास मन्त्रालयले पत्रकार सम्मेलन गरेर प्रदेशका छ जिल्लामा बर्ड फ्लु देखा परेको जनाएको हो ।
मकवानपुरसहित काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र सिन्धुपाल्चोक जिल्लामा बर्ड फ्लु संक्रमण देखा परेको मन्त्रालयले जनाएको छ । बर्ड फ्लु संक्रमण भएको पहिचान भएपछि माघ १६ गतेदेखि हालसम्म ५८ हजार २ सय ६१ पंछी नष्ट गरिसकेको छ । यस्तै २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तरिकाले नष्ट गरिएको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक भोगलप्रसाद साहले जानकारी दिनुभयो ।
मन्त्रालयले बर्ड फ्लु रोग रोकथामका लागि प्रदेश सरकार मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा कर्मचारीलाई लामो बिदा नबस्न र जिल्ला नछाड्न पत्राचार समेतको गरेको जनाइएको छ । यस्तै बर्ड फ्लु रोग छिटो नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
मन्त्रालयले बर्ड फ्लुको संक्रमण रोकथामका लागि आफुले पालेका पंछीहरुलाई जंगली तथा बाहिरी चराचुरुङ्गीको सम्पर्कमा आउन नदिने, ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराई स्वस्थ पंछीजन्य पदार्थको भेटेरिनरी प्रमाणपत्र लिई ओसारपसार गर्ने, पंछी बिरामी परेमा वा मरेमा सम्बन्धी पशु सेवा शाखा वा भेटेरिनरी अस्पतालमा सम्पर्क गर्न अनुरोध गरेको छ । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेको पनि उपस्थिति रहेको थियो ।