हेटौंडाः मकवानपुर होटल एशोसिएसनको अध्यक्षमा दिलिश गोविन्द जोशी निर्वाचित हुनुभएको छ । शनिबार भएको छैठौं अधिवेशनबाट जोशीको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति चयन भएको छ ।
नवनिर्वाचित अध्यक्ष जोशीले अग्रज व्यवसायीदेखि सम्पूर्ण व्यवसायीको साथमा जिल्लाको होटल तथा पर्यटन व्यवसायको प्रवद्र्धनको कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाका वस्तुगत संघमध्ये पहिलो स्थानमा होटल एशोसिएसनलाई स्थापित गर्ने दावी गर्नुभयो । साथै उहाँले एशोसिएसनका सदस्य व्यवसायीलाई एशोसिएसनकै तर्फबाट मकवानपुर उद्योग वाणिज्य संघको सदस्यता नवीकरण गरिदिने पनि बताउनुभयो ।
एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा विष्णुगोपाल महर्जन, उपाध्यक्षमा धन बहादुर पौडेल (कल्याण) निर्वाचित हुनुभएको छ । महासचिव हरिगोपाल सापकोटा, सचिव उमाप्रसाद रौनियार, कोषाध्यक्षमा रविन लामा, सहकोषाध्यक्ष सुरेश लामा चयन हुनुभएको छ । यस्तै सदस्यमा पारसमणि थिङ, तेज कुमार स्याङतान, धन गहतराज विश्वकर्मा, कृष्णकली राजथला, ऋतु पिया र पाल्साङ लामा निर्वाचित हुनुभएको छ । यस्तै निर्वाचित समितिले सरोज अधिकारी र सञ्जीव बल लोप्चनलाई कार्यसमिति सदस्यमा चयन गरेको छ । यसैगरी एशोसिएसनको पश्चिमक्षेत्र संयोजकमा कृष्णराम श्रेष्ठ, पूर्वीक्षेत्र संयोजकमा केदार दाहाल र उत्तरीक्षेत्र संयोजकमा रामशरण नेपाल चयन हुनुभएको छ ।
एशोसिएसनका निवर्तमान अध्यक्ष शंकरलाल श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मेयर महतले मकवानपुर होटल एशोसिएसनको भवन निर्माणका लागि उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अधिवेशनको उद्घाटनको अवसरमा एशोसिएसनले इतिहासकार केदारप्रसाद न्यौपाने र अग्रज होटल व्यवसायी प्रमोद श्रेष्ठलाई सम्मान गरिएको छ ।