परिषद्का वरिष्ठ उपाध्यक्षबाट प्रमाणपत्र ग्रहण गर्नुहुँदै नवनिर्वाचित केन्द्रीय सदस्य बालकृष्ण दाहाल (बायाँ) ।

हेटौंडाः मकवानपुरका बालकृष्ण दाहाल नेपाल विद्यालय कर्मचारी परिषद्को केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । मंगलबार र बुधबार लुम्बिनी प्रदेशको राजधानी बुटवलमा सम्पन्न परिषद्को छैठौं महाधिवेशनबाट मकवानपुरको हेटौंडा–४ स्थित भुटनदेवी माविका लेखापाल बालकृष्ण दाहाल सर्वसम्मत केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनुभएको हो ।

महाधिवेशनबाट रुपन्देहीका गंगाराम तिवारीको अध्यक्षतामा ४ वर्षे कार्यकालका लागि ३९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गरेको हो । महाधिवेशनमा परिषद् मकवानपुरका अध्यक्ष राजनप्रसाद अधिकारीसहित ४ जनाको सहभागिता रहेको थियो । विद्यालय कर्मचारीको हकहितका लागि स्थापित परिषद् ५० जिल्लामा विस्तार भएको छ । महाधिवेशनमा २८ जिल्लाबाट ३ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी थिए ।

महाधिवेशनले कर्मचारीको दरबन्दी सिर्जना गर्न ऐनमा व्यवस्था गर्नेसहितका ५१ बुँदे सहमति कार्यान्वयनमा जोड दिन सरकारलाई दबाव सिर्जना गर्ने निर्णय समेत गरेको नवनिर्वाचित केन्द्रीय सदस्य बालकृष्ण दाहालले जानकारी दिनुभएको छ । परिषद्का राष्ट्रिय अध्यक्ष बहादुर खड्काको कोभिड–१९ संक्रमणका कारण निधन भएपछि डोलराज शर्माले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।