हेटौंडाः एफसी कमलडाँडा प्रथम ८ “ए” साईड खुल्ला फूटबल प्रतियोगिताको फाइनलमा एफसी बसामाडी र जनप्रवाह युवा क्लब प्रवेश गरेको छ ।
बुधबार भएको सेमिफाइनल खेलमा प्रतिभा युवा क्लबलाई २–० गोलअन्तरले हराउँदै बसामाडी फाइनल प्रवेश गरेको हो । बसामाडीका लागि छ्योइसाङ लामाले दुई गोल गरे । खेलको म्याच अफ द म्याच लामा घोषित भए ।
यस्तै जनप्रवाह युवा क्लबले प्रगतिशील युवा क्लबलाई २–१ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । प्रगतिशीलका लागि निमेष लामाले सुरुवाती गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् । जनप्रवाहका लागि विदेशी खेलाडी म्याक्सल र मनिष पौडेलले समान एक–एक गोल गरे । खेलको म्याच अफ द म्याच प्रगतिका निमेष लामा घोषित भए ।
हेटौंडा–४, हुप्रचौरमा बिहीबार हुने फाइनल खेलमा एफसी बसामाडी र जनप्रवाह क्लबबीच उपाधि भिडन्त हुनेछ । प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।