हेटौंडाः हेटौंडा–४ स्थित हुप्रचौरमा जारी एफसी कमलडाँडा प्रथम ८ ‘ए’ साइड खुला फुटबल प्रतियोगितामा मंगलबार ४ खेल सम्पन्न भएको छ । मंगलबारकोे पहिलो खेलमा तपोवन टोल विकास संस्थाले रातोमाटे युवा क्लबलाई २—० गोलले हराएको छ ।
प्रतियोगिताको दोस्रो खेलमा न्यु कम्बाइन क्लबलाई प्रगतिशील युवा क्लबले २—० गोलले हराएको छ । ७ नम्बर फुटबल क्लबले पनि ओमनगर युवा क्लबलाई २—० गोलले नै हराएको छ । यस्तै, एफसी बसामाडीले केन्द्र प्रहरी सुरक्षा गणलाई १—० गोलले हराएको छ ।
बुधबार क्वाटरफाइनलअन्तर्गत् पहिलो खेलमा ७ नम्बर फुटबल टिम र प्रगतिशील युवा क्लब भिड्ने प्रतियोगिताका आयोजक कृष्ण गुरुङले जानकारी दिनुभयो । खेल बिहान ८ बजे हुने जनाइएको छ । यस्तै, क्वाटरफाइनलको दोस्रो खेलमा जनप्रवाह युवा क्लब र तपोवन टोल विकास भिड्नेछन् । खेल बिहान ९ बजे हुने जनाइको छ । दुबै खेलको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
सेमिफाइनलअन्तर्गत्का दुबै खेल बुधबार दिउँसो हुने आयोजक गुरुङले बताउनुभयो । बुधबारको पहिलो सेमिफाइन खेलमा एफसी बसामाडी र प्रतिभा युवा क्लब भिड्दैछन् । प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ । प्रतियोगिताको विजेताले टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।