सन्दर्भः अन्तर्राष्ट्रिय नारी दिवस
मैले आज यहाँ बनेर पुतली काटूँ कसोरी दिन
सारा यौवन भो जलेर क्षरणी थामूँ कसोरी मन
अर्काकै सुखको निमित्त अहिले सुम्पन्छु यो जीवन
बाली कोमल देह जल्छु महिनौं आगो चपाई कन
झम्टी लुछ्दछ मासु क्रुद्ध चितुवा लड्दो छु मुर्दा बनी
पालो कुर्दछ व्यग्र बाघ नजिकै चोक्टा निलौँला भनी
बारम्बार मरेँ म यो नरकमा अस्तित्व मासी सदा
चारै द्वार बसी शृगाल हुलले छेक्दो छ उन्मुक्तता
भोगी हिँड्दछ दैत्य मानिस बनी चीत्कार सुन्दैन हे
गौरीकी भगिनी नरो न यसरी पापिष्ट भन्दैन हे
भारी लाग्दछ हात, पाउ, शिर यी टेकिन्न गोडाहरू
टल्केको हिम शृङ्खला धमिलियो बाँकी छ के आबरु
आफ्नै लालचको पछिल्तिर कुदी बन्दी र दासी भएँ
मान्छे छैन कतै मनुष्य मुटुको व्यर्थै म प्यासी भएँ
मेरो प्राण चुसी किरा कुदिरहे दुर्जेय वैरी सरी
जिम्दो लास भएँ नि मस्त वयमा नेपालकी सुन्दरी
बाबा मातृ विक्षिप्त देख्छु निँदमा पीडा कसोरी सहूँ
प्यारा ती पतिदेव, पुत्र कलिला सम्झी कसोरी रहूँ
हे हावा लगिदे विषाद मनको छेँडेर पर्खालमा
मेरो हंस लिई बहेर घर जा स्वर्गीय संसारमा
(रचना काल–२०५८–१०–०५)