फाइल तस्बिर ।

हेटौंडाः मकवानपुर जिल्लाका ७ हजाभन्दा बढी विद्यार्थी एसईई परीक्षामा समावेश हुने भएका छन् । जिल्लाबाट एसईई परीक्षामा सहभागी हुनका लागि ७ हजार एक सय ३८ जना विद्यार्थीले परीक्षा फर्म भरेका छन् ।

जिल्लाका १ सय ३६ वटा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीले इसईई परीक्षाका लागि फर्म भरेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । परीक्षा फर्म भरेकामध्ये गे्रडवृद्धिका लागि १४ जना, प्राविधिक धारका २ सय ४५ जना र नियमिततर्फ करिब ६ हजार ८ सय ७९ विद्यार्थीले परीक्षा फर्म भरेका हुन् ।

दुई वर्षदेखि विद्यालयको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन भएको एसईई परीक्षा यसवर्ष परीक्षा केन्द्र कायम गरेर सञ्चालन गरिने तयारी भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्र तोक्न सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई आदेश दिएको छ । परीक्षा केन्द्र तोक्न आदेश दिएसँगै मकवानपुरमा २१ वटा परीक्षा केन्द्र तोकिएको इकाईका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

आगामी वैशाख ९ गतेबाट परीक्षा सुरु हुने गरी एसईई परीक्षाको तालिका सार्वजनिक भइसकेको छ । पछिल्ला दुई वर्ष विद्यालयलको आन्तरिक मूल्यांकनको आधारमा एसईई परीक्षाको नतिजा सार्वजनिक भएका कारण धेरै विद्यार्थी माथिल्लो तहमा राम्रो नतिजा ल्याएर उत्तीर्ण भएको दावी पौडेलले गर्नुभयो । गत वर्ष जिल्लामा ६ हजार ४ सय २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा २ सय ४६ जना प्राविधिक धार र ३८ जना विद्यार्थीले गे्रेडवृद्वि परीक्षा दिएका हुन् ।

मकवानपुरका मात्र ५२ जना विद्यार्थीले एसईईमा ४ जीपीए ल्याएका थिए । पौडेलका अनुसार दुई वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक भएपछि कक्षा ११ मा विद्यार्थी संख्या बढेको उहाँको भनाइ छ । कोरोना महामारीका कारण भौतिक उपस्थितिमा ३ महिनामात्र पढाई भएको र परीक्षा चाँडै हुन लागेकोमा केही शिक्षकहरुले एसईई परीक्षा तालिका विद्यार्थी हितविरुद्व रहेको दावी गरेका छन् । गतवर्षको तुलनामा यस वर्ष परीक्षार्थीको संख्या एक हजार भन्दा बढी वृद्वि भएको छ ।