हेटौंडाः प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता यही फागुन २८ गतेदेखि चैत १२ गतेसम्म आयोजना हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा पहिलो पटक प्रदेश खेलकुद प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको बारेमा शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । प्रतियोगिताको उद्घाटन समारोह फागुन २८ गते हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिताको समापन भने काभ्रेपलाञ्चोकको धुलिखेलमा गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन समारोह हुने बताइएको छ । समापन समारोह भने बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको प्रमुख आतिथ्यतामा हुनेछ ।

मकवानपुर, चितवन, सिन्धुपाल्चोक, काठमाडौं र काभ्रेपलाञ्चोक गरी प्रदेशका ५ जिल्लामा प्रतियोगिताअन्तर्गत्का खेलहरु हुनेछन् । पत्रकार सम्मेलनमा बताइएअनुसार प्रतियोगिताको उद्घाटनसहित पुरुष फुटबल, तेक्वान्दो र ब्याडमिन्टन प्रतियोगिता मकवानपुर जिल्लामा हुनेछ । पुरुष फुटबल र ब्याडमिन्टनका खेलहरु फागुन २९ गतेदेखि हुनेछ भने तेक्वान्दोका खेलहरु चैत ५ गतेदेखि सञ्चालन हुनेछ ।

प्रतियोगिताअन्तर्गत् भलिबल र क्रिकेट प्रतियोगिता चितवन जिल्लामा हुने भएको छ । यी दुबै खेल फागुन ३० गतेदेखि आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यस्तै, प्रतियोगिताअन्तर्गत्को कराँतेका खेलहरु फागुन ७ गतेबाट सिन्धुपाल्चोक जिल्लामा आयोजना हुनेछ । एथ्लेटिक्सका सम्पूर्ण खेलहरु चैत ६ गतेदेखि काठमाडौं जिल्लामा आयोजना हुने भएको छ । काभ्रपलाञ्चोक जिल्लामा प्रतियोगिताको समापनसहित महिला फुटबल र बक्सिङका खेलहरु सञ्चालन हुनेछ । महिला फुटबल चैत ७ गतेदेखि र बक्सिङ चैत ९ गतेदेखि आयोजना हुने बताइएको छ ।

प्रतियोगितामा ९ सय ३९ जना महिला र एक हजार २ सय ४९ जना पुरुष गरी २ हजार एक सय ८८ जना खेलाडीको सहभागिता रहनेछ । बागमती प्रदेश सरकारले खर्चमा हुन लागेको प्रतियोगिताका लागि करिब ८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी खेलाडीले स्पोर्टस् किट, यातायात खर्च र दैनिक २ हजार रुपैयाँ भत्ता पाउने बताइएको छ । विजयी खेलाडीहरुले नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता सञ्चालनका लागि विभिन्न ६ वटा उपसमिति तथा ८ वटा प्राविधिक समिति गठन गरिएको छ । प्रतियोगिताको उद्घाटन समारोहलाई भव्य बनाउन नेपाली सेना तथा नेपाल प्रहरीको ब्याण्ड, ३ सय जनाभन्दा बढी विद्यार्थीको ड्रिल प्रदर्शन, आतिसबाजी, मार्सल आर्ट्स डेमो, विभिन्न झा“की तथा सांस्कृतिक कार्यक्रम गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

खेलाडीमा खेल प्रतिभाको खोजी गर्ने, स्थानीय तहबाटै खेलकुदको प्रवद्र्धन गर्ने, खेलकुदका गतिविधि सञ्चालन गर्न प्रोत्साहत गर्ने, खेलकुदप्रति राज्यको प्रतिबद्धता अभिवृद्धि गर्ने र बागमती प्रदेशलाई खेलकुद क्षेत्रमा विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको परिषद्का सदस्यसचिव भण्डारीले बताउनुभयो ।