हेटौंडाः त्रिभुवन विश्वविद्यालयअन्तर्गत्को स्नातक तह प्रथम वर्षको परीक्षा आजबाट सुरु भएको छ । आज शुक्रबारबाट सुरु हुने स्नातक तह प्रथम वर्षको विभिन्न संकायको परीक्षा फागुन २९ गते सकिनेछ ।
पहिलो दिन आज शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कोभिड महामारी संक्रमणको जोखिमका कारण यसअघि सार्वजनिक परीक्षा तालिकाभन्दा करिब एक साता ढिला परीक्षा सुरु भएको हो । मकवानपुर जिल्लामा मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा क्याम्पसमा परीक्षा केन्द्र तोकिएको छ । मकवानपुरको उत्तरीक्षेत्र थाहा नगर र पश्चिम क्षेत्र मनहरी गाउँपालिकाका विद्यार्थी समेत परीक्षाका लागि हेटौंडा आउनुपर्ने बाध्यता छ ।
मकवानपुरमा हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा–४ स्थित हेटौंडा क्याम्पस र हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, मनहरी गाउँपालिकास्थित मनहरी बहुमुखी क्याम्पस, थाहा नगरपालिकास्थित पालुङ बहुमुखी क्याम्पस, हेटौंडा–१६, हटियास्थित जनप्रिय बहुमुखी क्याम्पस, हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पस, हेटौंडा–१० स्थित नारायणी कलेजमा त्रिभूवन विश्वविद्यालयअन्तर्गतको स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको छ ।