हेटौंडाः अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा हेटौंडामा बुधबार साँझ मसाल जुलुस निकालिएको छ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा अन्य ८ दल र दुई मोर्चाले संयुक्त मसाल जुलुस निकालेका हुन् ।
हेटौंडाको चौकीटोलबाट बुद्धचोक हुँदै सीमाचोकसम्म मसाल जुलुस प्रदर्शन गरिएको थियो । जुलुसपछि कोणसभामा परिणत बिरोधसभालाई सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी हेटौंडा उपमहानगरपालिका सेक्रेटरी सूर्य अर्यालले मकवानपुरका बुद्धिजीवी, नागरिक समाज, व्यवसायीहरुलाई नेपालको माया गरेर सडकमा आउन र एमसीसीको संयुक्त बिरोध गर्न आग्रह गर्नुभयो ।
अहिले सरकारमा रहेका दलालहरुले देश बेच्ने काम गरिरहेको भन्दै अर्यालले सबै नेपाली एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले आज बिहीबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने चेतावनी दिनुभएको छ । मसाल जुलुस निकाल्दा करिब २० मिनेट सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो ।