कक्षागत रुपमा उत्कृष्ट हुने एक विद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै भूटनदेवी माविका प्रअ माधव दाहाल ।

हेटौंडाः हेटौंडा—४ स्थित भूटनदेवी माध्यमिक विद्यालयले अर्धवार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरेको छ । ईसीडीदेखि कक्षा १० सम्मका उत्कृष्ट हुने एक/एक विद्यार्थीलाई भूटनदेवी माविका प्रधानाध्यापक माधव दाहालले पुरस्कृत गर्नुभएको हो ।

परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई हौसला प्रदान गरी अझै शैक्षिक गुणस्तर वृद्विका लागि प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गरिएको भूटनदेवी माविका शिक्षक मुकेश मिश्रले जानकारी दिनुभयो । कक्षागत उत्कृष्ट हुनेहरुलाई विद्यालयले कापी र कलम दिई पुरस्कृत गरेको उहाँले बताउनुभयो ।

विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा प्रीति यादवले ९२ प्रतिशत अंक हासिल गर्दै विद्यालय टप गरेको उहाँले बताउनुभयो । विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीमध्ये प्रीति उत्कृष्ट भएकी हुन् ।