वैठक समापनपछि निर्णयबारे जानकारी गराउनुहुँदै समितिका सभापति केशवप्रसाद पोखरेल ।

हेटौंडाः बागमती प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले मन्त्रीहरुलाई समितिको वैठकमा उपस्थित हुन ध्यानाकर्षण गराएको छ । आइतबारदेखि सुरु भएको समितिको वैठकमा सामाजिक विकास मन्त्री कुमारी मोक्तान र युवा तथा खेलकुद मन्त्री रत्न ढकाल बिना जानकारी अनुपस्थित भएको भन्दै ध्यानाकर्षण गराएको समितिका सभापति केशवप्रसाद पोखरेलले बताउनुभयो ।

बुधबार बिहान सम्पन्न बैठकपछि सभापति पोखरेलले मन्त्रीहरुसँग समय लिएरै वैठक बोलाइएको उल्लेख गर्दै संसद र संसदीय समितिको गरिमालाई ध्यान दिन मन्त्रीहरुलाई ध्यानाकर्षण गराएको छ । ४ दिनसम्म चलेको बैठकले प्रदेश सरकारले सञ्चालन गरेका आयोजनाहरुको फागुन मसान्तभित्र अनुगमन गर्ने निर्णय समेत गरेको छ । अनुगमनका लागि ४ वटा उपसमिति गठन गरेर ४ वटै क्लस्टरमा अनुगमन गर्ने निर्णय गरेको सभापति पोखरेलले जानकारी दिनुभयो ।

यस्तै पुँजीगत खर्च कम हुने र साधारण खर्च शत्प्रतिशत हुने अवस्था देखिएको भन्दै समितिले साधारण खर्च कटौति गर्न मन्त्रालयहरुलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । पुँजीगत खर्च बढाउन जनशक्तिको अभाव नहोस् भनी करारमा भए पनि जनशक्ति नियुक्त गर्न र कानुन संशोधन आवश्यक भए त्यसका लागि समितिले आवश्यक सहजीकरण गर्ने पनि निर्णय गरिएको छ ।

मन्त्रालय र मातहतका निर्देशनालयमार्फत कार्यान्वयन हुने योजना बारे आवश्यक सूचना प्रदेश सभा सदस्यसँगै प्रदेशका सवै स्थानीय तहमार्फत वडासम्म पुर्‍याउनुपर्ने समितिले निर्णय गरेको छ । यस्तै प्रदेशका गरिबहरुको पहिचानका लागि मापदण्ड निर्धारण गरी गरिबी निवारणका लागि ठोस कार्यक्रम सञ्चालन गर्न मन्त्रालयलाई सुझाव दिने निर्णय पनि समितिले गरेको छ ।