हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरले बकैया गाउँपालिकाको केन्द्र हात्तिसुडेमा फागुन २७ र २८ गते बकैया कला–साहित्य महोत्सब आयोजन गर्ने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मलेन गरेर महोत्सवमा साहित्यकार, साहित्यसेवी, कलाकार, नवप्रतिभा तथा विभिन्न संघसंस्थालाई सम्मान गर्ने जनाएको छ ।
झरना साहित्यत्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमले कला साहित्यको विकास गर्न महोत्सव गर्दै आएको बताउनुभयो । अहिले बकैयाँ गाउँपालिकाले कला साहित्यलाई निरन्तर मायाँ गर्दै आएको बताउनुहुँदै सबै स्थानीय तहले कला साहित्यलाई माया गर्नुपर्ने बताउनुभयो ।
झरनाले महोत्सवमा साहित्यकार, साहित्यसेवी, कलाकार, नवप्रतिभा तथा विभिन्न संघसंस्थालाई सम्मान गर्ने जनाइएको छ । होमनाथ टिका माया प्रतिभा सम्मान २०७८ नगद २१ हजार १ सय २१ र सम्मानपत्रसहित भक्तपुरका साहित्यकार डा.देवी नेपाललाई सम्मान गरिने जनाइएको छ । यस्तै शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान २०७८ नगद १५ हजार ५ सय रुपैयाँ र सम्मानपत्रसहित काठमाडौँका मुक्तककार वियोगी बुढाथोकी, बाबुलाल–भोजमाया स्मृति प्रतिभा सम्मान २०७८ नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित मकवानपुरका साहित्यकार आरसी रिजाल, खडानन्द–मनमाया स्मृति युवा प्रतिभा सम्मान २०७८ नगद ७ हजार ७ सय ७७ र सम्मानपत्रसहित धादिङका युवा कवि यात्री प्रकाश पाण्डेलाई सम्मान गर्ने जनाइएको छ ।
यस्तै सशीला दङ्गाल स्मृति सिर्जनशिल नारी सम्मान २०७८ नगद ७ हजार ७ सय ७७ रुपैयाँसहित मकवानपुरका युवा कवि शान्ति प्रियवन्दना, सञ्जीवनी बुटी साहित्य सेवा सम्मान २०७८ सम्मान २०७८ नगद ७ हजार ७ सय ७७ रुपैयाँ र सम्मानपत्रसहित बकैयाका साहित्यसेवी वेलप्रसाद दाहाललाई प्रदान गरिने जनाइएको छ ।
यस्तै खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान २०७८ नगद ७ हजार ७ सय ७७ रुपैयाँ र सम्मानपत्रसहित मकवानपुरका कलाकार बाबुलाल वाईबा, झरना–बकैया पत्रकारिता सम्मान २०७८ नगद ७ हजार ७ सय ७७ रुपैयाँ र सम्मानसहित बकैयाका पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त सम्मान गरिने भएको छ । झरना बकैया नवप्रतिभा सम्मान २०७८ नगद ५ हजार ५ रुपैयाँ र सम्मानपत्रसहित बकैयाका गजलकार विजय दोङलाई सम्मान गरिने जनाइएको छ ।
महोत्सवमा बकैया गाउँपालिकाभन्दा बाहिर देशभरबाट ५० जना साहित्यकार, कथाकारहरु उपस्थित हुने जनाइएको छ । महोत्सवमा कविता गजल, मुक्तक विशेष कार्यक्रमका साथै स्थानीय संस्कृतिको जर्गेना गर्ने उद्देश्यले खैजडी भजन, तामाङ, माझी, राईलगायत जनजातिको कला प्रदर्शनी गर्ने कार्यक्रममा रहेको जनाइएको छ ।