हेटौंडाः मैत्रीपूर्ण क्रिकेट खेलमा मकवानपुर जिल्लाको क्रिकेट टिमले चितवन जिल्लाको क्रिकेट टिमलाई पराजित गरेको छ । शनिबार हेटौंडाको हुप्रचौरमा भएको खेलमा मकवानपुर ६ विकेटले विजयी भएको हो ।
मकवानपुरले टस जितेर बलिङ गर्दा भ्रमण टोली चितवनले ३२ ओभर २ बल खेल्दै १० विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । चितवनका लागि सुजन चापागाईले ४२ र रिजन काफ्लेले ४० रनको योगदान गरेका थिए भने बलिङमा मकवानपुरका रिजन ढकालले ५ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । शुभ कंसाकारले ३ ओभर २ बलमा १५ रन दि“दै ३ विकेट लिन सफल भए ।
१ सय ४५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको मकवानपुरले २२ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य हासिल गर्यो । लक्ष्य पछ्याउने क्रममा मकवानपुरका शुभ कंसाकारले ७० रन र युविन बुढाथोकीले ४१ रनको पारी खेलेका थिए । चितवनको तर्फबाट बाबुराम भट्टराईले ३ ओभरमा १२ रन दिएर १ विकेट र दानिस इंकवालले ३ ओभरमा १३ रन दिँदै १ विकेट लिन सफल भएका थिए ।
मकवानपुर क्रिकेट टिमले हरेक साता मैत्रीपूर्ण खेल खेल्दै आएको छ । शनिबारको मैत्रीपूर्ण एक दिवसीय खेलमा भ्रमण टोलीलाई ग्राउन्ड लन्च मकवानपुर जिल्लाका पूर्व क्रिकेट खेलाडी सुरेन्द्र अधिकारीले प्रायोजन गर्नुभएको थियो भने मकवानपुर जिल्लाका पूर्वखेलाडी नितेस बज्राचार्यले डाइट उपलब्ध गराउनु भएको थियो ।