हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा बकैया कला, साहित्य महोत्सव फागुन अन्तिम साता आयोजना गर्ने भएको छ । भर्चुअल माध्यमबाट शनिबार सम्पन्न २७४ औं साहित्य शृङ्खलाको अवसरमा झरना साहित्यिक परिवार मकवानपुर अध्यक्ष दीपक गौतमले आगामी फागुन २७ र २८ गते बकैया कला, साहित्य महोत्सव–२०७८ हुने जानकारी दिनुभयो ।
बकैया गाउँपालिकामै स्थपित भई राष्ट्रिय पहिचान बनाउन सफल झरना साहित्यिक परिवारले बकैया गाउँपालिकासँगको सहकार्यमा बकैयामै कला, साहित्य महोत्सव गर्दै आएको छ । बकैया कला, साहित्यिक महोत्सवमा साहित्य गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम गर्दै आएको छ । झरना साहित्यिक परिवार मकवानपुरले २७४ औं साहित्य शृङ्खलामा उदीयमान पुस्ताको रचना वाचन कार्यक्रमको आयोजना गरेका छ ।
शनिबार भर्चुअल माध्यममार्फत आयोजित शृङ्खलामा अमृता लामिछानेले ५ वटा मुक्तक वाचन गर्नुभएको छ भने स्वस्तिका दाहालले २ वटा कविता वाचन गर्नुभयो । दाहालले कोरोना, मेरो जिन्दगी जस्ता शीर्षकमा कविता वाचन गर्नुभएको थियो । साहित्यकार नूरप्रसाद गौतमको प्रमूख आतिथ्य तथा झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।