हेटौंडाः सामुदायिक वन उपभोक्ता महासंघको दोस्रो चरणको आन्दोलन सकिएको छ । सरकारले उपभोक्ताको अधिकार कटौती गर्ने गरी वनसम्बन्धी ऐन, नियमावलीमा संशोधन गर्न लागेको भन्दै माघ १६ गतेदेखि सुरु भएको आन्दोलन शुक्रबार सकिएको हो ।
शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले धर्ना दिएका हुन् । सामुदायिक वन उपभोक्ता महासंघले बागमती प्रदेश सरकारको मुख्यमन्त्रीको कार्यालय, वन मन्त्रालयमा धर्ना दिएको छ । सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीले कालो कपडा लगाएर, कालो पट्टी बाँधेर, थाल ठटाउँदै, सिटी फुक्दै नाराबाजीसहित बिरोध प्रदर्शन गरेका हुन् ।
दोस्रो चरणको आन्दोलन सकिँदा पनि सरकारबाट माग पूरा हुने अवस्था नदेखिएसँगै सामुदायिक वन उपभोक्ता महासंघले तेस्रो चरणको आन्दोलनको तयारीमा लाग्ने बताएको । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले दोस्रो चरणको आन्दोलन सकिएलगत्तै महासंघले तेस्रो चरणको आन्दोलनको पनि तयारी गरिरहेको जानकारी दिनुभएको छ ।