स्वर्गीय सुशील कोइरालाको सातौं स्मृति दिवसमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरिँदै ।

हेटौंडाः काङ्ग्रेस मकवानपुरले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको सातौं स्मृति सभाको आयोजना गरेको छ । बुधबार काङ्ग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रीय समितिकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ को प्रमुख आतिथ्यमा स्मृति सभाको आयोजना गरिएको हो ।

स्मृतिसभामा सहभागीले स्वर्गीय कोइरालाको तस्वीरमा माल्यार्पण गर्नुका साथै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । स्मृति सभालाई सम्बोधन गर्नुहुँदै सहमहामन्त्री डिनाले सुशील कोइराला नेतृत्वको सरकारले २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान २०७२ जारी गरेको बताउनुभयो । संविधान निर्माणमा अगुवाई गर्नुभएकोले उहाँलाई नेपालको संविधानको पिताको रुपमा लिनुपर्ने नेतृ डीनाको भनाइ थियो ।

यस्तै कांग्रेस नेता निमा लामाले पनि नेपाली काङ्ग्रेसको त्यागी नेता सुशील कोइरालाले देशको संविधान र पार्टीलाई दिनुभएको योगदानलाई सम्झनुपर्ने बताउनुभयो । कोइरालाको कार्यकालमा नेपालको संविधान जारी गर्न सफल भएको उहाँले दावी गर्नुभयो । नेपालको ३७ औं प्रधानमन्त्री बन्नु भएका भएका कोइरालाको २०७२ माघ २६ गते काठमाडौंमा निधन भएको थियो । कोइराला २०७० माघ २७ गतेदेखि २०७२ असोज २३ गतेसम्म नेपालको प्रधानमन्त्री पदमा रहनु भएको थियो ।