हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले ल्याएको स्वर्णिम अवकास योजनामा ३३ जना शिक्षकले आवेदन दिएका छन् । लामो समय काम गरेकालाई अवकास दिन प्रेरित गरी नयाँ पुस्तालाई शिक्षा सेवामा स्वागत गर्ने योजनाअनुसार उपमहानगरपालिकाले प्रावि तहमा स्वर्णिम अवकास कार्यक्रम ल्याएको हो ।
स्वर्णिम अवकासमा सहभागी हुन चाहने शिक्षकलाई माघ ६ गतेसम्म आवेदन दिन आव्हान गरिएको थियो । २०८० साल बैशाख महिनाभन्दा पछि अनिवार्य अवकास हुने शिक्षकलाई लक्षित गरी एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म नगदसहित अवकास लिन चाहने शिक्षकलाई आवेदन दिन आव्हान गरिएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा शाखाकी अधिकृत सुनिता महर्जनले जानकारी दिनुभएको छ ।
२०८० साल बैशाखदेखि चैतसम्म अवकास हुने शिक्षकको हकमा एक लाख रुपैयाँ, २०८१ साल बैशाखदेखि पछिको हकमा एक लाख रुपैयाँमा प्रतिमहिना १० हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने शिक्षा अधिकृत महर्जनले बताउनुभएको छ । स्वर्णिम अवकास योजना कार्यक्रम सहजीकरण समितिको सोमबारको निर्णयअनुसार स्वर्मिण योजना कार्यक्रममा सहभागी हुन आवेदन दिने शिक्षकको सूचि शिक्षा विकास महाशाखाले मंगलबार सार्वजनिक गरेको छ ।