शैक्षिक सामग्री हस्तान्तरण गरिएका विद्यार्थीहरु । साथमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक पनि ।

हेटौंडाः सिविन नेपाल, बाल हेल्पलाईन मकवानपुरले मनहरी गाउँपालिकाको पशुपतिनाथ माविका ५ जना विद्यार्थीलाई शुक्रबार शैक्षिक सामग्री प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर भएका र बालश्रमको जोखिममा पर्न सक्ने विद्यार्थीलाई लक्षित गरी शैक्षिक सामग्री उपलब्ध गराइएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुहुँदै अध्ययमा निरन्तरता दिन आग्रह गर्नुभएको छ । अभिभावकबिहिन विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिले नै अभिभावकत्व ग्रहण गरी बालबालिकाको अध्ययन कार्यलाई निरन्तर अगाडि बढाउन सहयोग गर्ने अध्यक्ष गौतमले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले विभिन्न सहयोगी संस्थासँग समन्वय गरेर विद्यार्थीको अध्ययन कार्यलाई निरन्तरता दिन सहयोग गरिने बताउनुभयो ।

विद्यार्थीलाई उपलब्ध गराइएको शैक्षिक सामग्रीमा कपि, कलम, झोला, विद्यालय पोशाक, स्वेटर, क्यालकुलेटरलगायत रहेका छन् । कार्यक्रममा विद्यालयका शिक्षक ईश्वर रिाजल, सिबिन बाल हेल्पलाईनकी सहजकर्ता सुस्मिता बस्नेतलगायतको सहभागिता रहेको थियो ।