हेटौंडाः सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङले ३ दिन सार्वजनिक बिदा दिन बागमती प्रदेश सरकारसँग माग गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै घेदुङले माघ १८ गते देखी २० गतेसम्म बिदाको माग गरिएको हो ।
बागमती प्रदेशमा सोनाम ल्होछारलाई मुख्य पर्वको रुपमा मनाउने तामाङ समुदायको अत्याधिक बाहुल्यता रहेको र यस समुदायले ५ दिनसम्म यो पर्व मनाइने प्रचलन रहेकाले कम्तीमा ३ दिन सार्वजनिक बिदा दिनका लागि ज्ञापन पत्रमा माग गरिएको छ । केही समययता नेपाल सरकारले आम रुपमा सबैलाई दिदैं आएको सार्वजनिक बिदा कटौती गरी पर्व मान्ने समुदायलाई मात्र दिने व्यवस्था गरेकाले निश्चित पर्व मान्ने समुदायलाई मात्र तोकेर बिदा दिँइदा कार्यलय तथा विद्यालयहरु खुल्ला हुने र यसले वर्षदिनमा एकपटक आउने सांस्कृतिक पर्वमा समेत खुशी र हर्षाल्लासका साथ मनाउन नपाएको मुख्यमन्त्री पाण्डेलाई तामाङ घेदुङले गम्भीर ध्यानाकर्षण गराएको छ ।
मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश मन्त्रिपरिषदमा उक्त विषय बारे छलफल गरि निर्णय गरिने प्रतिकृया दिनुभएको छ । ज्ञापन पत्र बुझाउने क्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा, संघीय कमिटि सदस्य सुनिल मोक्तान, बागमती प्रदेश कमिटिका अध्यक्ष लिलाकुमार घलान, निवर्तमान अध्यक्ष सोमबले तामाङ, लगायतको उपस्थिति थियो ।