हेटौंडाः हेटौंडा अस्पताललाई स्वास्थ्य मन्त्रालयले २ वटा भेन्टिलेटर र स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्री निमा लामाले बिहीबार बिहान हेटौंडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । २ वटा भेन्टिलेटर, १० वटा बेड, मनिटर र अन्य स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री लामाले हेटौंडा अस्पताललाई प्रदेशकै प्रमुख अस्पतालको रुपमा विकास गरिने बताउनुभयो । कोभिड–१९ को संक्रमणको जोखिम कम गर्न प्रदेश सरकारले ध्यान दिइरहेको जानकारी गराउनुहुँदै मन्त्री लामाले आगामी चैत महिनासम्म प्रदेशका सवै नागरिकलाई दोस्रो डोज खोप लगाइसक्ने लक्ष्य लिएको बताउनुभयो । प्रदेशका १३ वटै जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल तयार पार्ने पनि उहाँको भनाई थियो । सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलको पनि उपस्थिति रहेको थियो ।