हेटौंडाः कोरोना भाइरसको तेस्रो लहर व्यापक बन्दै जाँदा मकवानपुर जिल्लास्थित सरकारी कार्यालयहरुले सेवा कटौती गर्न थालेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै नागरिकलाई दिइने सेवा कटौती गरिएको जनाएको छ । कर्मचारी संक्रमित भएको र थप संक्रमणको जोखिम भएको भन्दै सेवा कटौती गरिएको सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कर्मचारी र सेवाग्राही नागरिकबीच नियमित र प्रत्यक्ष सम्पर्क हुने किसिमका कामहरु कटौती गरिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, संघ, संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र सेवा आज आइतबारदेखि शुक्रबारसम्मका लागि स्थागित गरिएको नजाएको छ । प्रशासनले शान्ति सुरक्षा, विपद्, मुद्दा, राहदानीसम्बन्धी अत्यावश्यक सेवा नियमित रहने जानकारी गराएको छ ।
कोरोना संक्रमणकै जोखिमका कारण मकवानपुर जिल्ला अदालतले नियमित सेवा प्रवाहमा कटौती गरेको छ । जिल्ला अदालतका निमित्त श्रेस्तेदार अमृत घिमिरेले बिहीबार एक सुचना जारी गर्नुहुँदै अदालतका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएकोले माघ ९ गतेदेखि १४ गतेसम्मको सेवाप्रवाह कटौती गरिएको जानकारी दिनुभएको छ । अदालतको बिहीबार बसेको पूर्ण बैठकबाट माघ ९ गतेदेखि १४ गतेसम्म पक्राउ पुर्जी अनुमती, जरुरी पक्राउ पुर्जीको समर्थन र कल डिटेल अनुमती दिने कार्यहरु, पक्राउ परेका व्यक्तिहरुलाई हिरासतमा राख्ने अनुमती (म्याद थप) गर्ने कार्य, अभियोग पत्र दर्ता गर्ने, उपस्थित प्रतिवादीको बयान लिने र थुनछेक गर्ने कार्य हुने जनाएको छ । यसैगरी मुद्दा मिलापत्र, फिर्ता र डिसमिस सम्बन्धी कार्य, मुलुकी फौजदारी कार्यबिधी संहिता २०७४ को दफा १५५ अनुसारको निवेदन तथा बाल सुधार गृहमा रहेका बालबालिका जिम्मा लिन पाउँ भन्ने निवेदनका कार्यमा मात्र अदालतको कामकारवाही हुने पनि सुचनामा उल्लेख गरिएको छ । सेवा संकुचन गरिएको अवधीमा रोकिएको तारेख, हदम्याद, म्याद समेतको हकमा प्रचलित कानून बमोजिमका सेवा प्राप्त हुने निमित्त श्रेस्तेदार घिमिरेले बताउनुभयो ।
यता यातायात व्यवस्था कार्यालयले भने भौतिक उपस्थितिमा प्राप्त हुने सेवाका लागि सेवाग्राहीले अनिवार्य रुपमा खोपकार्ड लिएर आउनुपर्ने सूचना जारी गरेको छ । कार्यालयले खोप कार्ड लिएर, मास्क लगाएर आए मात्रै सेवा प्रदान गर्ने स्पष्ट पारेको छ । कोरोना भाइरस संक्रमणको जोखिमभन्दै नागरिक सेवा कटौती गर्नुलाई उपयुक्त मान्न नसकिने भन्दै टिप्पणी पनि भइरहेको छ । पर्याप्त सतर्कता अपनाएर नागरिकलाई सेवा प्रदान गर्न तत्पर हुनुपर्ने आवश्यकता विपरित सेवा कटौतीलाई सहज मान्न नहुने नागरिक अगुवाको भनाइ छ । सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठले सेवाग्राहीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेर सेवा प्रवाहलाई पूर्णक्षमतामा कायमै राख्नुपर्ने बताउनुहुन्छ ।