हेटौंडाः हेटौंडा–६ चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसको पाँचौं क्याम्पससभा शुक्रबार भएको छ । क्याम्पस सभाले उज्वल चौलागाईको अध्यक्षतामा १३ सदस्यीय क्याम्पस सञ्चालक समिति चयन गरेको छ । चौलागाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।
क्याम्पस सभाबाट क्याम्पस सञ्चालक समितिको उपाध्यक्षमा पूर्णभद्र चौलागाई, कोषाध्यक्षमा उद्धव विडारीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा उत्सव चौलागाई, शुभद्रा तिल्सिना, गणेश बहादुर दुलाल, धुव्र घिमिरे, आमन्त्रित सदस्यमा पुष्पराज अधिकारी, विश्वराज राई रहनुभएको क्याम्पस प्रमुख लक्षमण कँडेलले जानकारी दिनुभयो । क्याम्पस सञ्चालक समितिको सदस्य सचिव क्याम्पस प्रमुख रहने व्यवस्था छ ।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा क्याम्पस सभाको उद्घाटन कार्यक्रम भएको थियो । क्याम्पस सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पौडेलले सामुदायिक क्याम्पस सञ्चालन गर्न जटिल भएको बताउनुभयो । सरकारी क्याम्पस सरकारको लगानीमा चल्ने र निजी क्याम्पस आफू अनुकुलमा शूल्क उठाउन सक्ने भए पनि सामुदायिक क्याम्पसमा शूल्क उठाउन गाह्रो हुनुका साथै नियमित निश्चित स्रोत नहुनुले समस्या हुने गरेको उहाँको भनाइ छ ।
क्याम्पस सभाकै अवसरमा क्याम्पसको पाँच कोठे नवनिर्मित भवनको उद्घाटन गरिएको छ । प्रदेश सरकारको ५५ लाख रुपैयाँ बजेट र विश्व विद्यालय अनुदान आयोग अनुदान २५ लाख रुपैयाँ अनुदान रकमबाट भवन निर्माण गरिएको क्याम्पस प्रमुख कँडेलले बताउनुभयो । शिक्षा संकाय र वाणिज्य संकायमा स्नातक तह अध्ययन हुने बंशगोपाल बहुमुखी क्याम्पसमा एक सय २५ जना विद्यार्थी अध्ययनरत छन् ।