मकवानपुरको जिल्ला प्रशासन कार्यालय भवन ।

हेटौंडाः महंगोमा मास्क बेचेको अभियोगमा पक्राउ परेका तीन जना धरौटीमा छु्टेका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जनही ५ हजार रुपैयाँ धरौटीमा तीनैजनालाई बिहीबार तारेखमा छाड्न आदेश दिएको हो ।

सर्जिकल मास्क १० रुपैयाँमा विक्री गरेको भन्ने उपभोक्ताको उजुरीपछि प्रशासन कार्यालयको आदेशमा हेटौंडा–१ स्थित फार्मेसी सञ्चालकहरु डा. साजित अन्सारी, बब्लु पाण्डे र सजिता पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले अन्सारी र पाण्डेलाई मंगलबार पक्राउ गरेको थियो भने पोखरेललाई बुधबार पक्राउ गरेको हो ।

उपभोक्ताले ५ रुपैयाँमा पाउने मास्क १० रुपैयाँमा विक्री गरेको भन्ने आरोप लगाउँदै स्थानीय प्रशासनलाई उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान गरेको प्रशासनको भनाइ छ । यता औषधी व्यवसायीले भने मास्कको गुणस्तर अनुसार ५ रुपैयाँदेखि १० रुपैयाँसम्म स्वभाविक मूल्य भएको दावी गरेको छ । कोरोना महामारीका बेला चिकित्सक र व्यवसायीको पेशागत मर्यादामा नै आँच आउने गरी प्रशासनले पक्राउ नै गर्नु उचित नभएको भन्दै गुनासो गरेका छन् ।