हेटौंडाः कोरोना महामारीको पहिलो र दोस्रो लहरमा पटकपटक विद्यालयलगायत शिक्षण संस्थाहरु बन्द भए । अहिले तेस्रो लहरका रुपमा कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टसमेतको संक्रमण दर बढेको भन्दै सरकारले विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
गत पुस २६ गतेदेखि सीसीएमसीले विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएपछि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । विद्यालयहरु बन्द भएपछि केही विद्यालयले अनलाइन कक्षा सञ्चालन सुरु गरिसकेका छन् । कलेजलगायत केही शिक्षण संस्थाहरु अनलाइन कक्षा सञ्चालनको तयारीमा छन् ।
सामुदायिक विद्यालय तथा ग्रामीण भेगका विद्यालयहरुमा पूर्ण प्रभावकारी बन्न नसकेका भर्चुअल तथा अनलाइन कक्षा फेरि चर्चामा आएको छ । करिब ४ महिना भौतिक उपस्थितिमा सञ्चालन भएका हेटौंडा उपमहानगरपालिकालगायत मकवानपुरका विद्यालयहरुले फेरि भर्चुअल माध्यमबाट पठनपाठन गर्न थालेका छन् । लामो समय विद्यालय बन्द गर्दा विद्यार्थीहरु पढाइबाट अलग हुने र शिक्षाको गुणस्तर खस्किने हुँदा कतिपय विद्यालयले अनलाइन कक्षालाई तत्काल सुरु गरेका छन् ।
हेटौंडा-५ स्थित लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक रामहरि मैनालीले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई आइतबारबाट अनलाइनबाट पठनपाठन सुरु गरेको बताउनुभयो । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई भने भौतिक उपस्थितिमै शिक्षण सिकाई भइरहेको उहाँले दावी गर्नुभयो । भर्चुअल माध्यमलाई मध्यनजर गर्दै सञ्चालन गरेको अनलाइन कक्षा पूर्णरुपमा प्रभावकारी हुन नसकेको प्रधानाध्यापक मैनालीले बताउनुभयो ।
यसैगरी हेटौंडा-१ स्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सुदर्शन पौडेलले गाउँका सबैजना रुघाखोकीलगायत अन्य स्वास्थ्य समस्याबाट ग्रस्त भएका कारण सरकारकै निर्देशनअनुरुप विद्यालय बन्द रहेको जानकारी दिनुभयो । अब माघ १५ गतेपछि सरकारले गर्ने निर्णय तथा निर्देशनअनुसार मात्र वैकल्पिक विधिबाट शिक्षण सिकाइ सुरु गरिने पौडेलले जानकारी दिनुभयो । विकट क्षेत्र तथा इन्टरनेटको पहुँच नहुँदा पठनपाठनलाई ठप्प गर्न बाध्य रहेको उहाँले बताउनुभयो ।
हेटौंडा-१९ बस्तीपुरस्थित एपिकल एकेडेमीका प्रधानाध्यापक अरविन्दकुमार झाले कक्षा १ देखि १० सम्म नै सोमबारदेखि अनलाइन कक्षा सुरु गरेको बताउनुभयो । हेटौंडाको वडा नम्बर ४ मा रहेका तीनवटै सामुदायिक माध्यमिक विद्यालयहरुले आइतबारदेखि अनलाइन कक्षा सुरु गर्ने भएका छन् । वडा नम्बर ४ का आधुनिक, भूटनदेवी र श्रमिक माध्यमिक विद्यालयले आइतबारबाट अनलाइन कक्षा सञ्चालन गर्ने भएका हुन् ।
हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले संघीय शिक्षा मन्त्रालयको निर्णयअनुसार गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेपछि महाशाखाले पनि विद्यालय बन्द गर्न र वैकल्पिक सिकाईका माध्यमहरु अवलम्बन गरी शिक्षण सिकाईको उपयुक्त कार्ययोजना तयार गरी सिकाई सहजीकरण क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिएको थियो । विद्यालयमा कहिलेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने र वैकल्पिक माध्यमबाट शिक्षण सिकाई कसरी सञ्चालन गर्ने भन्ने विषय अहिले निर्णय नभएको महाशाखाका प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो । संघीय सरकारको माघ १५ गतेपछिको निर्णयअनुसार मात्र शिक्षण गतिविधि कसरी अघि बढाउने भन्ने निर्णय गरिने उहाँले बताउनुभयो ।
कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि शिक्षा क्षेत्र प्रभावित हुँदै आएकोे छ । सरकारले वैकल्पिक शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरेको थियो । अहिले पनि केही विद्यालयले सोही निर्देशिकाअनुसार पठनपाठन सञ्चालन गरिरहेका छन् । कोभिडको दोस्रो लहरको समयमा गरिएको निषेधाज्ञाको समयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेको भन्दै हेटौंडा उपमहानगरका दुईवटा निजी विद्यालयका एक–एक जना सञ्चालकलाई स्थानीय प्रशासनले पक्राउ गरेर जरिवानासमेत गराएको थियो ।
विद्यालयले भौतिक उपस्थितिमा विद्यार्थी बोलाएर पठनपाठन गरिएको पाइए संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय मकवानपुरले कारवाही गर्ने निर्देशन दिएको छ । मोबाइल सिम, अनलाइन सिकाई सहजीकरण, अनौपचारिक तथा शैक्षिक सामग्री, वर्कसिट वितरण गरेर वैकल्पिक शिक्षण सिकाई अगाडि बढाउन सरकारले विद्यालयलाई निर्देशन दिएको थियो । जसअनुरुप अनलाइन शिक्षा पूर्णरुपमा प्रभावकारी हुन नसके पनि फेरि विद्यालयहरुले अनलाइन कक्षालाई नै जोड दिएका हुन् ।