अङ्गारा युवा क्लबको टिम ।

हेटौंडाः मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकामा बुधबार सम्पन्न तेस्रो थाहा गोल्डकपको उपाधि अंगारा फुटबल क्लबले जितेको छ । फाइनल खेलमा बारा–११ लाई १–० गोलअन्तरले पराजित गर्दै अंगाराले उपाधि जितेको हो । अंगाराका लागि खेलको अन्तिम समयमा सुशान्त कार्कीले निर्णायक गोल गरे ।

उपाधिसँगै अंगारा फुटबल क्लबले एक लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको बारा–११ ले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगितामा २६ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन हेटौंडा स्कूल अफ म्यानेजमेन्टले गरेको हो । यस्तै द्वितीय पुरस्कारको प्रायोजन स्वच्छन्द निर्माण सेवाले गरेको हो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी अंगाराका जंगे धामी भएका छन् भने उत्कृष्ट गोलरक्षक अंगाराका किसन गुरुङ, उत्कृष्ट डिफेन्डर अंगाराका विश्वास थापा, उत्कृष्ट मिडफिल्डर बारा–११ का ओम चौधरी, सवैभन्दा बढी गोलकर्ता डाँडाबास एफसीका विशाल स्याङ्तान घोषित भए । उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

थाहा नगर खेलकुद विकास समितिका संयोजक राजेश केसीको अध्यक्षता तथा बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री रत्न ढकालको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्टको पनि उपस्थिति रहेको थियो ।