कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बैठकमा सहभागीहरु ।

हेटौंडाः बागमती प्रदेशमा समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्‍याउने निर्णय भएको छ । कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहीबार बसेको पहिलो बैठकले समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्‍याउने निर्णय गरेको स्वास्थ्य मन्त्री निमा लामाको सचिवालयले जनाएको छ ।

समितिका संयोजक मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशमा खोप लगाउने नागरिकको दर बढाउन समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्‍याउन आवश्यकता अनुसार खोप केन्द्र विस्तार गर्ने निर्णय गरेको बताइएको छ । ‘कोभिड–१९ विरुद्धको खोप अभियानमा स्थानीय तहलाई पनि पहलकदमीका लागि अनुरोध गर्ने र त्यसका लागि ११९ स्थानीय तहका जनप्रतिनिधिसँग भर्चुअल बैठक गरिने भएको छ,’ बैठकपछि स्वास्थ्य मन्त्री निमा लामाले भन्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।

बागमती प्रदेशका कतिपय स्थानीय तहमा लक्ष्य भन्दा कम जनसंख्याले खोप लगाएको तथ्यांकले देखाएकाले खोप अभियानमा जनप्रतिनिधिको पहलकदमी आवश्यक देखिएको मन्त्री लामाको भनाई छ । उहाँका अनुसार यातायातकर्मीलाई समेत लक्षित गरी बसपार्क र सार्वजनिकस्थलमा खोप अभियान संचालन गरिने भएको छ ।

कोरोना संक्रमण दर नियन्त्रण र रोकथामका लागि जनस्वास्थ्यका मापदण्डको कडाईका साथ पालना गर्ने/गराउने, २५ जना भन्दा बढि सहभागी भएर गरिने कार्यक्रममा रोक लगाउने, धार्मिकस्थलमा हुने नियमित पुजाबाहेकका गतिविधिलाई नियन्त्रण गर्ने, स्वास्थ्यकर्मीसहित कोरोनाविरुद्धको अभियानमा सक्रियहरुलाई प्रोत्साहनको काम गर्ने, फ्रन्टलाईनरहरुलाई प्राथमिकताका साथ कोभिडविरुद्धको अतिरिक्त खोप लगाउने व्यवस्था गर्ने निर्णय निर्देशक समितिले गरेको छ । बैठकले कोरोना संक्रमण नियन्त्रण, रोकथाम एवं उपचारका लागि नीजि क्षेत्रसहित सबै पक्षस“ग सहकार्य गर्ने निर्णय गरेको बताइएको छ ।