हेटौंडाः हेटौंडा–४, हुप्रचौरमा जारी जिल्लास्तरीय शिक्षक नकआउट भलिबल प्रतियोगितामा थाहा नगरपालिकाको सुन्दरीदेवी मावि र बकैया गाउँपालिकाको महेन्द्र मावि फाइनल प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न सेमीफाइनल खेलमा सुन्दरीदेवी माविले मकवानपुरगढी गाउँपालिकाको जनता माविलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने महेन्द्र माविले हेटौंडाको जीएस निकेतन माविलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । फाइनल खेल भोलि शुक्रबार बिहान हुनेछ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १९ वटा विद्यालयको टिम सहभागी थियो ।

प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ तथा उपविजेता टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने अन्य २ टिमले ५/५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । यसैगरी विधागत उत्कृष्ट खेलाडीहरुमध्ये सर्वोत्कृष्ट खालाडीलाई ३ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाईकर र उत्कृष्ट सेटरलाई जनही २÷२ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।