हेटौंडाः हेटौंडा–११, थानाभर्याङस्थित नेपाल परिवार नियोजन संघमा माघ ७ गते निशुल्क महिला तथा पुरुष बन्ध्याकरण शिविर हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर र नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको संयुक्त आयोजनामा बन्ध्याकरण शिविर हुन लागेको हो ।
एक वा दुई सन्तान भएका दम्पतीले शिविरमा सेवा लिन सक्ने नेपाल परिवार नियोजन संघ मकवानपुरकी शाखा प्रबन्धक ममता श्रेष्ठले बताउनुभयो । कार्यक्रममा जिल्लाभित्र बाहेकका मानिसहरुले पनि सेवा लिन पाउने उहाँले बताउनुभयो । कार्यक्रममा सेवा लिनेलाई जनही २ सय रुपैयाँका दरले यातायात खर्च पनि प्रदान गर्ने जनाइएको छ ।
यसअघि पनि यस्तो कार्यक्रमहरु धेरै पटक गर्दै आइरहेको र धेरैले सेवा लिएका शाखा प्रबन्धक श्रेष्ठले बताउनुभयो । यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित देविटार आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आज बुधबार परिवार नियोजनको अस्थायी साधन ईम्प्लान्ट र आ.यू.सि.डि.को स्याटलाईट सेवा सञ्चालन हुने बताइएको छ ।