हेटौंडाः मकवानपुरको मकवानपुरगढी–५ स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वेटर वितरण गरिएको छ । हेटौंडा–२, बुद्धचोकस्थित साई कलेक्सनका सञ्चालक एवम् समाजसेवी रविन्द्र घिमिरेले बुबा विश्वनाथ उपाध्याय घिमिरेको स्मृतिमा विद्यालयमा अध्ययनरत सवै विद्यार्थीलाई सोमबार स्वेटर सहयोग गर्नुभएको हो ।

स्वेटर हस्तान्तरण कार्यक्रममा सहभागीहरु ।

विपन्न बालबालिकाका लागि ४० हजार रुपैयाँ बराबरको स्वेटर वितरण गरिएको सहयोगी रविन्द्र घिमिरेले जानकारी दिनुभयो । प्रारम्भिक बालविकास कक्षादेखि ५ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ८३ जना विद्यार्थी रहेको प्रधानाध्यापक चतुर्भुज पौडेलले जानकारी दिनुभएको छ ।

विपन्न समुदायका बालबालिका पठनपाठन गर्ने र आर्थिक अवस्था कमजोर भएका कारण मध्य जाडोमा पनि न्यानो कपडा लगाउन नपाएको अवस्थामा सहयोगका लागि आग्रह गरेपछि सहयोग प्राप्त भएको प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो । स्वेटर वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर तितुङको पनि उपस्थिति रहेको थियो ।