हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा मकवानपुरको राक्सिराङ गाउँपालिकाका विपन्न चेपाङ तथा तामाङ परिवारलाई सोमबार न्यानो कपडा (कम्वल) वितरण गरिएको छ ।
स्थानीय चेपाङ तथा तामाङ समुदायका जाडोबाट प्रभावित विकट राक्सीराङ गाउँपालिका ४ रतुवाका ४ सय ७५ घरपरिवारलाई सोमबार न्यानो कपडा वितरण गरिएको हो । कांग्रेस राक्सिराङ गाउँपालिका–४ का वडा सभापति विकास ब्लोनको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा रतुवाका ४ सय ७५ घरपरिवार र राक्सिराङकै सूर्योदय माविको छात्रावासका विद्यार्थीलाई ४० थान न्यानो कपडा कम्वल वितरण गर्नुभएको थियो भने बाँकी १ सय ८५ थान न्यानो कपडा अवस्था हेरेर स्थानीयलाई वितरण गर्न कांग्रेस राक्सिराङ गाउँपालिका सभापति वीरेन्द्र जिम्बालाई हस्तान्तरण गर्नुभएको थियो ।
सहयोग हस्तान्तरणपछि नेता बानियाँले आफूले निर्वाचन जितेर गएपछि जनतालाई सहयोग गरिरहेको र भोलिका दिनमासमेत जनताको सेवामा लागिरहने प्रतिवद्धता जनाउनुभएको छ । अघिल्लो वर्षहरुमा समेत जाडोमा न्यानो कपडा, कोरोना समय र चाडबाडमा खाद्यान्न वितरण गरेकोले यसवर्ष पनि जाडोमा कठ्याङग्रिएर रात बिताउन बाध्य चेपाङ तथा तामाङ बस्तीमा थोरै भएपनि राहत पुग्ने भएकाले न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।
न्यानो कपडा वितरण कार्यक्रममा प्रतिनिधिसभा २ का संघीय सभापति लोक मुक्तान, काठमाडौं क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति कवीर शर्मा, महाधिवेशन प्रतिनिधि उपेन्द्र कार्की, कांग्रेसका जिल्ला सदस्य एवम् राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, जिल्ला सदस्य एवम् राक्सिराङ ८ का वडाअध्यक्ष रामकृष्ण प्रजा, राक्सिराङ गाउँपालिका सभापति वीरेन्द्र जिम्बा, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, राक्सिराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, राक्सिराङ गाउँपालिका–४ का तरुण सभापति हिरालाल भ्लोनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।