हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–५, दमारस्थित बाराही आधारभूत विद्यालयको ४ कोठे भवनको सोमबार उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष हिदम लामाले विद्यालय भवनको उद्घाटन गर्नुभएको छ ।
२०४३ सालमा स्थापित विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरले ६८ लाख ८९ हजार रुपैयाँ लागतमा निर्माण गरिदिएको हो । ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा एक सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, ५ नम्बर वडा अध्यक्ष जहारसिं लामा, गाउँपालिकाको शिक्षा प्रमुख गोविन्द चौलागाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रेग्मीको पनि आतिथ्य रहेको थियो ।
दुर्गम क्षेत्र भएकोले विद्यार्थी संख्या कम रहेको विद्यालयका प्रधानाध्यापक बिसुराम पुडासैनीले जानकारी दिनुभयो । केही समयअघिसम्म बालबिवाह गरेर, मजदुरीका लागि विद्यार्थीहरु बीचमै पढाई छाडेर जाने समस्या रहेको उल्लेख गर्नुहुँदै प्रधानाध्यापक पुडासैनीले अहिले ती समस्या समाधान भएको बताउनुहुन्छ । शिक्षक दरबन्दीको अभावमा पनि नियमित पठनपाठनमा समस्या भइरहेको प्रधानाध्यापक पुडासैनीको भनाइ छ ।
८ कक्षासम्म पढाई हुने विद्यालयमा ४ जना स्थायी दरबन्दीका शिक्षक छन् भने एकजना राहत दरबन्दीका र एकजना गाउँपालिकाको बजेटमा नियुक्त गरिएको छ ।