हेटौंडाः नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ चयन हुनुभएको छ । आइतबार बिहान निर्वाचन मण्डलका अध्यक्ष रामेश्वर रानाले सर्वसम्मत नयाँ नेतृत्व चयन भएको घोषणा गर्नुभएको हो । निर्वाचन मण्डलका अध्यक्ष रानाले एमाले मकवानपुरको उपाध्यक्षमा लालबहादुर, सचीवमा नवीन सिग्देल, उपसचिवमा हिदम लामा र सीता बिष्ट चयन हुनुभएको जानकारी गराउनुभयो ।
हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा शुक्रबार उद्घाटन गरिएको नेकपा एमाले मकवानपुरको ११ औं अधिवेशनअन्तर्गत शनिबार बिहान हेटौंडा–४ स्थित होटल क्वीक २० मा निर्वाचनको प्रक्रिया सञ्चालन गर्ने तयारी गरिएको थियो । सहमतिका लागि भन्दै लामो समय निर्वाचन प्रक्रिया नै अवरुद्ध गर्दै शनिबार दिउँसो आइतबार बिहानसम्मका लागि भन्दै निर्वाचनको प्रक्रिया स्थगित गरिएको जानकारी गराइएको थियो ।
आइतबार बिहान हेटौंडा–५ स्थित पार्टी कार्यालयबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको निर्वाचन मण्डलका अध्यक्ष रामेश्वर रानाले जानकारी दिनुभएको थियो । अध्यक्षका आकांक्षी एकालाल श्रेष्ठसँगै बद्रिप्रसाद लम्साल पनि हुनुहुन्थ्यो । पार्टीको केन्द्रीय नेताको दबावमा सर्वसम्मतको नाममा नयाँ नेतृत्व चयन प्रक्रियामा केही नेता, कार्यकर्ताले असन्तुष्टी समेत व्यक्त गरेका छन् । नेतृत्व चयनको प्रक्रियालाई लिएर एक कार्यकर्ताले भने, ‘कम्युनिष्ट पार्टीको नेतृत्व चयन निर्वाचनबाट नभई वाचनबाट भयो ।’