कैलाश गाउँपालिकाको भवन ।

हेटौंडाः मकवानपुरको विकट कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन बुधबार उद्घाटन गरिएको छ । गाउँपालिकाको प्रशासनिक केन्द्र कालिकाटारमा २६ कोठे नवनिर्मित प्रशासकीय भवनको जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन कार्यक्रममा प्रमुख खुलालले भवन निर्माणसँगै गाउँपालिकाले सेवाप्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । भवन अभावमा विभिन्न समस्या खेप्दै आएको गाउँपालिकाले अब सेवाप्रवाह चुस्त बनाउनुपर्ने उहाँको भनाई छ । जिससले स्थानीय तहको उन्नति, प्रगति र प्रभावकारी सेवाप्रवाहलाई नै आफ्नो उपलब्धीका मानेको भन्दै प्रमुख खुलालले कैलाश गाउँपालिकाले जिससबाट प्राप्त बजेटको उचित उपयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहहरुलाई अधिकारसम्पन्न बनाउन र विकासमा अग्रस्थानमा राख्न जिससले विभिन्न क्षेत्रमा समन्वय र सहकार्य गर्दै आएको बताउनुभयो । आगामी दिनमा समेत जिससले समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता प्रमुख खुलालले व्यक्त गर्नुभयो ।

भवन निर्माणका लागि जिससबाट २ करोड रुपैयाँ उपलब्ध गराइएको थियो । ३ करोड ९७ लाख १५ हजार रुपैयाँ लागत अनुमान रहेको भवन निर्माणका लागि निर्माण कम्पनीले ३ करोड १८ लाख ५४ हजार रुपैयाँमा जिम्मा लिएको थियो । २०७७ साल असार ७ गते निर्माण कम्पनी रविन-अविसा जेभीसँग डेढ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । निर्माण कम्पनीले तोकिएको समयमा नै भवन निर्माण सम्पन्न गरेको बताइएको छ ।

भवन उद्घाटन कार्यक्रममा जिसस मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले भौगोलिक विकटताका बीच कैलाश गाउँपालिकाले प्रशासनिक भवन निर्माण गरेर राम्रो उपलब्धी हासिल गरेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष सुकुमाया थिङले पालिकाको विकासमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आफूले जनतालाई सधैं उत्साहित बनाउने काम गरेको बताउनुभयो । उहाँले स्थानीय तहबाट सेवाग्राहीले उत्कृष्ट सेवा सुविधा पाउनुपर्छ भन्ने मान्यताका साथ काम गरेको बताउनुभयो ।

नवनिर्मित भवनमा केहि सामानय काम गर्न बाँकी रहेको र त्यो छिट्टै सम्पन्न हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिनुभयो । उहाँले जिससको सहयोगले भवन निर्माण सहज भएको भन्दै जिससलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाको प्रशासनिक भवन र १० शैयाको अस्पताल निर्माणका लागि करिब १६ रोपनी जग्गा प्रदान गर्ने दाताहरुलाई सम्मानसमेत गरिएको थियो । गाउँपालिका भवन र अस्पताल निर्माणका लागि स्थानीय रामलाल घलान, गोबिन्द पाठक, सूर्यबहादुर तितुङ, दुर्गाबहादुर स्याङ्तान, सञ्चबहादुर स्याङ्तान, सुकुबहादुर स्याङ्तान, सिंगराम घलान र रामबहादुर स्याङ्तानले जग्गा प्रदान गर्नुभएको बताइएको छ । गाउँपलिकाकी कार्यबाहक अध्यक्ष थिङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, पालिकाका कर्मचारीलगायतको सहभागिता थियो ।