हेटौंडाः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ५ महिनामा १ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म १ करोड ८२ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।
ट्राफिक प्रहरीले साउन महिनामा १७ लाख ५८ हजार रुपैयाँ, भदौमा पनि १७ लाख ५८ हजार रुपैयाँ र असोजमा २४ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेका छ । यस्तै कार्तिक महिनामा ३३ लाख ८३ हजार रुयैयाँ र मंसिर महिनामा १४ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
मंसिर महिनामा ठूला सवारी साधनहरु ट्रक, ट्रिपर र ट्याङ्कर गरी जम्मा २ सय १५ वटालाई कारबाही गरिएको जनाइएको छ । जसबाट मात्र २ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेका थियो । यस्तै २ सय ५६ वटा बसलाई कारबाही गरी २ लाख २ हजार रुपैयाँ राजस्व संंकलन गरेको छ ।
जीप–कार २ सय ८५ वटालाई कारबाही गरी १ लाख ९४ हजार ५ सय रुपैयाँ, १ सय ३७ वटा मोटरसाइकललाई कारबाही गरी १ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै ६ सय ४० वटा ट्रयाक्टरलाई कारबाही गरी ५२ हजार ४ सय रुपैयाँ, तीन पाङ्ग्रे सवारी साधन ३ सय १७ वटालाई कारबाही गरी २ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
मंसिरमा राजस्व सोचेको भन्दा कम संकलन भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रकाश पाण्डेले बताउनुभयो । मंसिरमा जिल्लामा भएको थोरै ट्राफिक जनशक्ति पनि चिवतनमा भएको एमाले दशौं महाधिवेशनका क्रममा पठाउनुपरेको र हेटौंडामा भएको नेपाली कांगे्रसको प्रदेश अधिवेशनमा पूर्व–पश्चिम राजमार्गमा मात्र बढी खटिनुपर्ने भएकाले कम राजस्व संकलन भएको उहाँले बताउनुभयो । उहाँले अहिले कडारुपमा सवारी साधनको सुरक्षाजाँच गरिरहेको बताउनुभयो ।