एक पटक बादशाह अकबर र कान्छी बेगमका बीचमा खटपट भयो । अकबरले रिसाएर उनलाई माइत जान आदेश दिए । उनले भने,“तिमीलाई मनपर्ने चिज लिएर माइत जाऊ । यहाँ बसेर मलाई मुख नदेखाऊ ।” बेगमलाई ठूलो पीर पर्यो । उनले वीरबललाई बोलाइन् र आफू र बादशाहबीच भएको झगडाको बारेमा सुनाइन् । “बेगम साहिबा १ बादशाहले त्यसो भनेका भए तपाई जानुहोस् तर….” वीरबलले उनको कानमा सुटुक्क एउटा कुरा भने । बेगमको अनुहार उज्यालो भयो ।
साँझपख बेगमले अकबरलाई निन्द्रा लाग्ने औषधी दिइन् । अकबर निन्द्रामा पर्नासाथ रथमा राखेर माइतीमा लिएर गइन् । माइतमा लगेर एउटा भव्य कोठामा सुताइन् । बिहानपख अकबर निन्द्रामा बिउँझिए । बिउँझिदा त उनले आफूलाई अनौठो ठाउँमा पाए । “हैन म कहाँ छु हँ ।” उनी चिच्याए । अकबरको आवाज सुनेर बेगम हाँस्दै उनको छेउमा पुगिन् । अकबर बेगमलाई देखेर छक्क परे । “हैन, तिमी अझै माइती गएकी छैनौ ?”
“म माइतीमै त छु नि बादशाह ।” “म कसरी यहाँ भएँ त ?” “तपाई पनि मसँगै आउनुभयो” “कसरी?” “मैले ल्याएँ ।” “किन ल्यायौ त मलाई ?” “हजुरले नै भन्नुभएको होइन आफूलाई मनपर्ने चिज लिएर जाऊ भनेर ? त्यसैले मैले त हजूरलाई नै लिएर आएँ ” यो कुरा सुनेर बादशाहको रिस ह्वात्तै झर्यो । उनी मुुसुमुुुसु हाँसे । उनले सोधे, “यो आइडिया वीरबलको त होला नि, होइन ?”बेगमले टाउको हल्लाइन् ।