भीमफेदी-६, चिसापानी पुलमुनी भेटिएको गणेशलाल श्रेष्ठको शालिक । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको भीमफेदीमा पुस ३ गते राती लोककवि गणेशलाल श्रेष्ठको सालिक चोरी भयोे । अनावरण गर्ने तयारी गरिएको अघिल्लो राती नै चोरी भएको सालिक सोमबार दिउँसो भीमफेदीको चिसापानी पुल मुनी बरामद भयो ।

लोककविको सालिक चोरी भएको घटनालाई लिएर चौतर्फी विरोध भएपछि चोरिएको मूर्ति भोलिपल्टै बरामद भए पनि प्रहरीले चोर पक्राउ गर्न भने चासो देखाएको छैन । चोरीको घटना भएको दुई साता भइसक्दा पनि प्रहरीले चोर पक्रन सकेको छैन । चोरीको घटना र घटना भएको भीमफेदी बजार आसपास मूर्ति बरामद भएपनि प्रहरीले चोर पक्राउ गर्न भने चासो नदेखाउनुले प्रहरीको भूमिकामाथि प्रश्न खडा भएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान चलिरहेको जवाफ मात्रै दिने गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले अनुसन्धान भइरहेको र चोरलाई पक्राउ गरेर कारबाहीको दायरा ल्याइने बताउनुभएको छ । भीमफेदीकै लोककविको सम्मानमा नागरिकस्तरबाट लोककविको सम्मानमा सालिक स्थापना गरिन लाग्दा भएको घटनाप्रति नागरिक समाजले दुख व्यक्त गर्दै आएको छ ।

पूर्वराजदूत समेत रहनुभएका भिमफेदीमै जन्मनुभएका परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले लोककवि गणेशलाल श्रेष्ठको सालिक चोरी गर्ने घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु प्रहरीको अकर्मण्यता भएको बताउनुभएको छ । सालिक अनावरण कार्यक्रममा सहभागी हुनका लागि भीमफेदी आइपुग्नु भएका श्रेष्ठले सामाजिक जिवनमा योगदान गरेका व्यक्तिको अपमान हुने गरी भएको घटनालाई स्थानीय प्रशासनले सामान्यरुपमा लिन नहुने बताउनुहुँदै उहाँले दोषीलाई कारवाही गरेर सामाजिक सेवामा समर्पित हुनेहरुको सम्मान गर्न र नयाँ पुस्तालाई समेत सामाजिक सेवाको क्षेत्रमा अग्रसर गराउन राज्यले प्रेरित गर्नुपर्ने बताउनुभएको छ ।