राष्ट्रिय चित्रकला कार्यशालाको समापनपछि सहभागिताको प्रमाणपत्रसहित कलाकारहरु ।

हेटौंडाः हेटौंडा–१८ स्थित ज्योति माविले आयोजना गरेको राष्ट्रिय चित्रकला कार्यशाला मंगलबार सकिएको छ । मावि तहमा चित्रकला विषय पठनपाठन गर्ने लक्ष्यसहित विद्यालयको ५५ औं स्थापना दिवसको अवसरमा ५ दिने कार्यशालाको आयोजना गरिएको थियो ।

चित्रकला कार्यशालामा चित्र बनाउँदै कलाकार ।

ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलका अनुसार विद्यालय पसिरसमा खुल्लारुपमा सञ्चालन गरिएको कार्यशालाको सजिलैसँग विद्यार्थीले अवलोकन गरेका छन् । १८ जना चित्रकारले कार्यशालामा चित्र तयार कोर्नुका साथै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चित्रकलाका बारेमा जानकारी समेत गराएका थिए ।

चित्रकला कार्यशालामा चित्र बनाउँदै कलाकारहरु ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको सभाध्यक्षता तथा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो । विद्यालय स्थापना दिवसकै अवसरमा विद्यालयबाट अवकाश पाउने शिक्षकहरुको विदाई गर्नुका साथै चित्रकला कार्यशाला समापनको दिन विद्यालयको शैक्षिक भवनको समेत उद्घाटन गरिएको थियो । ज्योति माविमा १ हजार २ सय विद्यार्थी अध्ययनरत छन् ।