हेटौँडाः बागमतीको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त हुनुभएको छ । डा. पन्तको नियुक्तिसँगै अढाई वर्षपछि प्रदेश नीति तथा योजना आयोगले उपाध्यक्ष पाएको छ । तत्कालिन उपाध्यक्ष डा. खिमलाल देवकोटाले २०७६ साल असार अन्तिममा राजिनामा दिनुभएपछि लामो समय योजना आयोग उपाध्यक्षविहिन थियो ।
प्रदेश सरकारको गत शुक्रबार बसेको बैठकले पन्तलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । यस्तै सदस्यमा पहिलो संविधानसभा सदस्य समेत रहनुभएका मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाललाई नियुक्त गरेको छ । उपाध्यक्ष पन्त र सदस्य लामिछानेलाई गत शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले नियुक्तिसम्बन्धी निर्णय गरेको थियो भने नेपाललाई बुधबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले भक्तपुरका राजु नेपाललाई पनि सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार उपाध्यक्ष पन्त र सदस्य लामिछाने र नेपाललाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सपथ गराउनुभएको छ ।
उपाध्यक्ष नियुक्त हुनुभएका पन्तले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट आर्थिक विकेन्द्रीकरण, सार्वजनिक सेवा प्रवाह र गरिबी शीर्षकमा शोध गरी विद्यावारिधी उपाधि हासिल गर्नुभएको छ । मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष १ र सदस्य ४ गरी पाँच सदस्यीय मनोनित पदाधिकारी रहने व्यवस्था रहेको छ । सरकारले उपाध्यक्षसहित दुई सदस्यमात्रै नियुक्त गरेको छ भने समावेशीता क्षेत्रबाट महिला अनिवार्य सदस्य रहने गरी थप दुई सदस्य नियुक्त गर्ने तयारी भइरहेको मुख्यमन्त्री पाण्डेका निजी सचिव अच्युत प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
प्रदेश नीति तथा योजना आयोगमा पदाधिकारी नियुक्तिसँगै आवधिक योजनाको समिक्षा तथा आगामी वर्ष २०७८।७९ को योजना तर्जुमा प्रक्रिया अघि बढ्ने बताइएको छ ।