हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) बागमती प्रदेशको मुख्य कार्यालय शनिबार (आज) हेटौंडामा उद्घाटन गरिएको छ । प्रदेश कार्यालयसँगै मकवानपुर जिल्ला समिति कार्यालयको पनि उद्घाटन भएको हो ।

नेकपा समाजवादीको केन्द्रिय ईन्चार्ज राजु कार्की, बागमती प्रदेश इन्चार्ज इन्द्र प्रसाद तिमल्सिना, प्रवक्ता मान बहादुर तामाङ लगायतले संयुक्त रुपमा प्रदेश र जिल्ला कार्यालयको उद्घाटन गर्नुभएको हो ।

बागमती प्रदेश राजधानी हेटौंडामा समाजवादीको प्रदेश र जिल्ला कार्यालय उद्घाटन गर्दै केन्द्रिय संयोजक राजु कार्कीले सातै प्रदेश मध्ये पहिलो हेटौंडामा प्रदेश कार्यालय स्थापना गरिएको बताउनुभयो । उहाँले समाजवादी पार्टीले अब शान्तिपूर्ण लडाई लड्ने बताउनुभएको छ । अबको चुनावमा नेकपा समाजवादी बैकल्पिक शक्तिको रुपमा उदाउने उहाँले बताउनुभयो ।

अबको देश विकासको लागि विकल्प भनेकै समाजवादी पार्टी भएको उहाँको ठम्याई छ । सानोतीनो चानचुने मिशनका साथ यो पार्टी नआएको भन्दै ठुलो मिशन र भिजन बोकेर आएको केन्द्रिय संयोजक कार्कीले बताउनुभयो । अब देशको नेतृत्व नेकपा समाजवादीले गर्ने उहाँले ठोकुवा गर्नुभयो । नेकपा समाजवादी पार्टीले आजै बागमती प्रदेश र जिल्ला कमिटी समेत घोषणा गर्दैछ ।