नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज काठमाडौंमा सुरु हुँदैछ । पटक–पटक सर्दै आएको महाधिवेशनको समय यतिबेला जुरेको छ । पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने अवस्था भएपछि मात्र बाध्यताले महाधिवेशन हुन लागेको हो । सबैभन्दा लोकतान्त्रिक दावी गर्ने पार्टीले नै आफ्नो अधिवेशन समयमै गर्न नसक्नु नेतृत्वको अक्षमता नै हो । आफू नै निरन्तर सत्तामा हुनुपर्ने नेपाली नेताहरुको चरित्रअनुसार नै कांग्रेस नेतृत्वले अधिवेशन लम्व्याएको आरोप लाग्दै आएको छ । कारणहरु धेरै भए पनि मूलभूतरुपमा नेतृत्वको इच्छाशक्ति नभएकाले नै महाधिवेशन सर्दै आएको हो । विचारविहीन अवस्थामा महाधिवेशन हुन लागेको छ । यस पटकको महाधिवेशनमा पार्टीको आगामी कार्यक्रम र नीतिसम्बन्धी कुनै प्रस्ताव पेश हुनेछैन ।

नेपाली कांग्रेस गुटैगुटको महासंगठनजस्तो देखिएको छ । जीवन्त पार्टीभित्र फरक विचार हुनु स्वभाविक हो । तर निर्माण भएका गुटहरु भिन्न विचारका लागि नभई पदको आकांक्षाका लागि हुन् । पदकै लागि गुट बनाउने प्रचलन कांग्रेसले इतिहासको विरासतबाटै पाएको हो । गुटकै बीच नेताहरुले उम्मेद्वारी दावी गरेका छन् । कांग्रेसमा पुरानो पुस्ताले गुट बनाएको छ । त्यसमै युवा पुस्ता रुमल्लिएको छ । सक्षम नेतृत्वभन्दा पनि गुटका आधारमा नेता मान्ने परम्परा छ । यस पटकको महाधिवेशनमा पनि त्यही पुनरावृत्ति हुने खतरा छ । पुरानै पुस्ता नेतृत्वमा पुग्ने हो भने त्यो समयको मागविपरित हुने स्पष्ट छ । कांग्रेसलाई नयाँ जीवन र ऊर्जाका लागि अब नेतृत्वमा पनि नयाँ पुस्ता हावी हुनैपर्दछ ।

युवा पुस्ताले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसक्दा सबै दलहरुमा पुरानो नेतृत्व नै स्थापित हुने गरेको छ । पुस्तान्तरणको गफ सबै युवाहरुले गर्ने गरे पनि नयाँ अनुहारका लागि सहमत हुन नसक्नु युवाहरुको कमजोरी हो । नेतृत्व परिवर्तन गर्नसमेत तयार नभएको अवस्थामा पुस्तान्तरण त टाढाको विषय बनेको छ । एमाले, माओवादी वा अन्य दलमा समेत नेतृत्व हस्तान्तरण वा परिवर्तनको गुन्जायस छैन । नेतृत्वको एकल घोषणा हुँदै आएको छ । तर कांग्रेसमा पुरानै पुस्ताबीच भएपनि चुनावी प्रतिस्पर्धाबाटै नेतृत्व छनौट हुने गरेको छ । कांग्रेसको वडा तहदेखि नै निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुँदै आएको छ । यसरी आएका नेतृत्वमा युवाहरुको उपस्थिति उल्लेख्य छ । तर उनीहरु केन्द्रमा युवालाई नै छनौट गर्न स्वतन्त्र छन् त ?

देशमा अनेक राजनीतिक दाउपेच चलिरहेको छ । दलको अधिवेशनमा लोकतन्त्र वा गणतन्त्र बिरोधीहरुको चलखेल हुने गरेको सार्वजनिक भइरहेको छ । गणतन्त्रविरुद्ध फँडा उठाउने दुष्प्रयास हुने खतराबीच लोकतान्त्रिक दलको महाधिवशेन हुन गइरहेको छ । गणतन्त्रलाई थप परिस्कृत र बलियो बनाउन सक्ने सक्षम नेतृत्व आजको आवश्यकता हो । प्रतिनिधिहरुले गुटगत पगरी फुकाल्न जरुरी छ । गुटभन्दा माथि उठेर पार्टीलाई जीवन्त बनाउने र समयको मागअनुसारको नेतृत्व चयन गर्न विवेक प्रयोग गर्ने आँट गर्न सक्नुपर्दछ । नारा परिवर्तनको लगाउने तर आफैं गुटगत घेराबाट ननिस्कने हो भने परिवर्तन सम्भव छैन । लोकतान्त्रिक विधिमार्फत् प्रतिनिधि बन्दै महाधिवेशनमा पुगेकाहरुले विवेकसम्मत निर्णय गरी सही नेतृत्व चयन गर्न सकुन्, शुभकामना ।