जागिर पाउने सम्बन्धमा चिठी लेखेँ । वेतन खासै नपाउने हुनाले निवेदन पनि के भन्नु र खै । जेहोस् नामका पछि थर पनि लेखेँ । भन्नासाथ जागिर दिनलाई म को हुँ भन्ने चिनाउनु पनि त पर्यो नि । आफूलाई जागिर दिनैपर्नेसम्बन्धमा सुहाउँदो अलंकार, पहिचान जोड्न खोजेँ ।
नामका अगाडि केही थप्ने ठूलै रहर लागेकै हो । लेख्नलाई आफूसँग डा., प्रा.डा., ई. केही अनुभव पनि त थिएन । माननीय हुनलाई जनतालाई अत्याएको वा पार्टीलाई पैसा दिएर पत्याएको पनि होइन । नामका अघि ‘श्री’ ले नपुगेर मानमाथि भुक्तमान थपेर बनाइदिएँ–श्रीमान् हरिप शर्मा ।
नामअघि लेख्न जेसी, लायन परिएन । पत्रकार लेख्दा त्यही समाचार पढेर सराप्ने हुन् हनुमान र अरिंगालहरू । शिक्षक हुँ भन्नलाई त पार्टीको पहिचान पनि दिनुपर्ला ।
नाममा जे रह्यो रह्यो । अब त बानी परिसक्यो । अली अघि सार्वजनिक सवारीमा एउटाको पाकेट गायब भयो । पछाडि मलाई देखेर शंकाले पुलिसलाई खबर गरेछ । नामले धोका दिन्छ कहिलेकाहीँ । पुलिसले शंका गरेर तैैँ हरिप होस् भन्दा हुँ हजुर भन्नुपर्ने ।
खरिदार पास गर्न सक्या भए बिहेको कार्डमा खरिदार फलानो भनेर लेख्नुहुन्थ्यो । पढाउन अल्छिले हेडसर भइयो, अँ त्यो पनि जँगर नचलेर शिक्षाविद् भइयो भन्न पनि पाइएको होइन ।
नामले मात्रै पुगेन, नामका अघि बे. लेखेर बेनाम बन्नु पनि भएन । अनर्थ लाउनेको हुलमा बेपारीलाई बेइज्जति, बेधर्मी, बेइमान थपेर बेइमान हरिप शर्मा बनाइदिन के बेर ? अब त नामै फेर्छु । मान्छेहरु पढ्दा हुन् – हरिप शर्मा रहेनन् । शीर्षक मात्रै पढेर रिप लेख्नेहरु पनि निस्केलान् । आखिर फूर्सद पो कसलाई छ र ?
नाम भनेको नामै हो, थर भनेको थरै हो । झुप्रो भा नि घरै हो, सानो भए नि ठूलो भए नि भर भन्या भरै हो । गर्दै गर्नु ल । इति ।