हेटौंडाः बसामाडी जेसिजको आयोजनामा जारी लक्ष्मीमाया वज्राचार्य स्मृति जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको फाइनलमा आज आइतबार हटिया स्पोर्टस एकेडेमी र आमभन्ज्याङ युवा क्लब भिड्ने भएका छन् । फाइनल खेल आइतबार दिउँसो साढे १ बजे हुने जनाइएको छ ।
हेटौंडा–१७, हटियास्थित नेपालचौरमा जारी १९ औं संस्करणको प्रतियोगिताअन्तर्गत शनिबार क्वाटरफाइनलका ४ र सेमिफाइनलका २ खेलहरु भएपछि फाइनल पुग्ने दुबै टोलीको टुङ्गो लागेको थियो । मकवानपुरका जिल्ला भित्रका १० वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले ६५ हजार रुपैयाँ तथा उपविजेता टिमले ३० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।
हिजो शनिबार भएको सेमिफाइनलको पहिलो खेलमा आमभन्ज्याङले हेटौंडा–१२ लाई ३–१ को सेटमा पराजित गर्दै फाइनल छिरेको हो । आमभन्ज्याङले पहिलो दोस्रो र चौथो सेटमा २५–१८, २५–२० र २५–२० अंक प्राप्त गरेको थियो भने तेस्रो सेट २५–२० ले नै पराजित भएको थियो । यस्तै दोस्रो सेमिफाइनल खेलमा हटियाले थाहा नगरपालिकालाई ३–२ को सेटमा पराजित गरेको हो । हटियाले जीत हात पार्न पहिलो, तेस्रो र पाँचौ सेटमा २५–२०, २५–२१ र १५–१३ अंक ल्याएको थियो भने दोस्रो र चौथो सेट २५–२० र २५–२३ ले हारेको थियो ।
यसअघि शनिबार नै भएको क्वाटरफाइनल तर्फको खेलअन्तर्गत पहिलो खेलमा थाहाले आग्रालाई २–१ को सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा हटियाले सोल्टुलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै तेस्रो खेलमा आमभन्ज्याङले बाग्मतीलाई २–० कै सोझो सेटमा पराजित गर्दा चौथो खेलमा हेटौंडा–१९ ले हेटौंडा–१२ लाई बाई दिएको थियो ।