हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले वार्षिक कार्यक्रमअन्तर्गत् शुक्रबार चित्रकला प्रतियोगिता गरेको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई ‘हाम्रो विद्यालय’ र कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई ‘हाम्रो गाउँघर’ भन्ने शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो ।
कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच भएको प्रतियोगितामा ज्योति माविका प्रनिशा लामा प्रथम, कमला आधारभूत विद्यालयका निरोज मोक्तान द्वितीय, जेनिथ इन्टरनेशनल बोर्डिङ स्कूलक स्नेहा चौधरी तृतीय भएका छन् । प्रतियोगितामा आधुनिक राष्ट्रिय माविका स्नेहा चौधरी, राजदेवी माविका धिरज सुनुवार र कमाने एकेडेमीका सिर्जना थापा सान्त्वना भएका छन् ।
यसैगरी, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीबीच भएको प्रतियोगितामा ज्योति मावि हर्नामाडीका नरेश पुर्कुटी प्रथम, हेटौंडा एकेडेमीका कृष रौनियार द्वितीय, आनन्दभैरब आधारभूत विद्यालयका सुमन अछामी तृतीय भएका छन् । नवोदय शिशु सदनका सार्थक ढकाल, आधुनिक राष्ट्रिय माविका कृतिका लामा र जनप्रिय माविका अञ्जली रुम्बा सान्त्वना भएका छन् ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई पुरस्कारस्वरुप स्टेशनरी सामग्री प्रदान गरिएको शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले बताउनुभयो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमशः ५ हजार, ३ हजार, २ हजार र एक हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको खड्काले जानकारी दिनुभयो ।
सानै उमेरदेखि बालबालिकाले चित्र कोर्ने काम गर्ने हुँदा प्रायः सबै विद्यार्थीहरुले प्रतियोगितामा सहभागी जनाउने गरेको महाशाखा प्रमुख गंगाधर रिमालले बताउनुभयो । सबै विद्यार्थीको अभिरुचिका विषयलाई मध्यनजर गरी प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा कक्षा १ देखि ५ सम्म ३९ विद्यालय र कक्षा ६ देखि ८ सम्म ३५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए ।